कर्णाली रोजगारको बजेट उपलब्धी विहीन

Posted on: 04 Nov, 2017

दलसिंह गिरी | कात्तिक १८, कालिकोट । कर्णाली रोजगार कार्यक्रम अन्तर्गतको बजेट दुरुपयोग भएको छ । कर्णालीमा विकास योजनाहरु सञ्चालन गरेर यहाँका विपन्न नागरिकलाई रोजगार बनाउने यो कार्यक्रमको उदेश्य हो । तर कालिकोटमा भने यो कार्यक्रम अन्तर्गतको बजेट उपलब्धीविहीन काममा खर्च गरेर सक्ने काम भएको छ ।

जिल्लामा यो कार्यक्रम अन्तर्गत आएको बजेट सही काममा लगानी हुन सकेको छैन । राजनीतिक दल र तत्कालिन गाविसका कर्मचारीहरुको मिलेमतोमा उपलब्धीविहीन काममा खर्च गरेर बजेटको दुरुपयोग गरिएको पाइएको छ । जिल्लामा विषेशगरी साविकका गाविसहरु लालु, माल्कोट, कोटवाडा, रुप्सा र कुमालगाउँमा विनियोजन भएको कर्णाली रोजगार कार्यक्रमको बजेट दुरुपयोग भएको पाइएको हो ।

यहाँ अहिले कुनै जलविद्युत आयोजना सञ्चालनमा छैन । अर्कोततर्फ भविष्यमा सञ्चालनमा गर्ने गरी कुनै सम्भाव्यता अध्ययन पनि भएको छैन । न त त्यहाँ तत्काल विद्युतको राष्ट्रिय प्रशारण लाइन नै पुग्ने सम्भावना नै छ । तर त्यस क्षेत्रमा लाखौं रकम खर्च गरेर बिजुलीका पोल गाडेर तार विस्तार गरिएको छ । बजेट सक्ने नाममा हचुवाको भरमा गाडिएका बिजुलीका पोल र तार अहिले अलपत्र अवस्थामा छन् ।

गाउँमा आएको लाखौं रकम खर्चेर गाडिएका पोल र तार अहिले खिया लागेर नोक्सान हुन लागेका छन् । आर्थिक वर्ष २०६७/०६८ मा कर्णाली रोजगार कार्यक्रमको बजेटबाट पोल र तार खरिद गरिएको थियो । पोल र तार विस्तार गरेको सात वर्षसम्म पनि स्थानीयले बिजुली बाल्न भने पाएका छैनन् । बरु गाउँमा गाडिएका कतिपय पोल तार हराएका छन् ।

त्यहाँ अझै केही वर्षसम्म पनि बिजुली पुग्ने सम्भावना देखिँदैन् । तर बजेट सक्नकै लागि साविकका गाविस र राजनीतिक दलहरुले अध्ययन नै नगरी बजेट खर्च गरेका छन् । आपसी मिलेमतोमा खर्च गरिएको बजेटले उपलब्धी भने दिएको छैन । सम्भाव्यता अध्ययन नै नगरेर खर्च गरिएको बजेट वेकामे भएपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन् । विद्यालय, सडक र स्वास्थ्यमा रकम लगानी गर्न आग्रह गर्दासमेत दलहरुले सम्भावना नै नभएको बिजुलीका पोलमा बजेट सकेको भन्दै उनीहरुले आक्रोश पोख्न थालेका हुन् । हचुवाका भरमा साविकका गाविसको विकास अनुदानको बजेट र कर्णाली रोजगार कार्यक्रमको बजेटबाट गाडिएका पोल र तारहरु अलपत्र अवस्थामा छन् । स्थानीयले बिजुली बाल्न नपाएरै पोल र तार खिया लागेर नोक्सान हुने अवस्थामा पुगेका हुन् ।

कहाँ कति रकम खर्च भयो ?

साविकको लालु गाविसले कर्णाली रोजगार कार्यक्रमको ४५ लाख रुपैयाँ उपलब्धीविहीन काममा खर्च गरेर दुरुपयोग गरेको छ । आर्थिक वर्ष २०६७/०६८ मा यो गाविसले कर्णाली रोजगार कार्यक्रमबाट ४५ लाख र गाविसको २७ लाख खर्च गरेर गाउँमा बिजुली पोल र तार विस्तार गरेको थियो । तर लाखौं रकम खर्च गर्दासमेत अहिले न गाउँमा बिजुली बलेको छ, न त बिजुलीका पोल र तार नै काम लाग्ने अवस्थामा छन् ।

यस्तै साविकको माल्कोट गाविसले पनि लाखौं रकम खर्च गरेको छ । बजेटको एकीन हिसाव सार्वजनिक नगरे पनि लाखौं रकम खर्च गरेर बिजुलीका पोल गाडिएका छन् । त्यसैगरी साविकको कुमालगाउँ गाविसले आर्थिक वर्ष २०७०/७१ को विकासे अनुदानबाट २५ लाख रुपैयाँ खर्च गरेर पोल खरिद गरेको छ । नेकपा एमाले कुमालगाउँका नेता टक्क विष्टले बिजुलीका पोल र तार खरिद गरिएको स्वीकार गरे । यही हाराहारीमा अन्य स्थानमा पनि कर्णाली रोजगार कार्यक्रमको रकमबाट बिजुलीका पोल र तार खरिद गरिएका छन् । विद्युत आयोजनाको पुर्वाधार निर्माण नै नगरी गाउँमा पोल र तार विस्तार गरेर अलपत्र अवस्थामा छोड्नु बजेटको ब्यापक दुरुपयोग भएको लालुका सामाजिक अभियन्ता निर्मलकुमारले विष्टले बताए ।

बिजुलीका पोल र तार अलपत्र

जिल्लाका लालु, माल्कोट, कुमालगाउँ, रुप्सा र कोटबाडामा विगतमा साविकका गाविस र कर्णाली रोजगारको बजेटबाट खरिद गरिएका अधिकांश पोल र तार अलपत्र परेका छन् । गाउँमा विस्तार गरिएका पोल र तार खिया लागि सकेका छन् । यस्तै अधिकांश पोल र तार जिल्लाका लालीघाट र जितेबजारमा अलपत्र अवस्थामा रहेको लालुका शिक्षक नवराज शाहीले बताए ।

‘गाविस र कर्णाली रोजगारको रकम दुरुपयोग गरियो, बिजुली नै नभएको ठाउँमा बेकारमा रकम खर्च गर्न मात्र बिजुलीका पोल खरिद गरिएको छ’ उनले भने, ‘विद्युतको आयोजना नै नभएको ठाउँमा अहिले नै किन पोल र तार चाहियो ?’ तर विद्युत आयोजनाको सर्भे भएका कारण ति गाउँमा पहिले नै पोल खरिद गरिएको र गाउँमा पोल गाडिएको नेकपा एमाले नरहरीनाथ गाउँपालिका अध्यक्ष टंक विष्टको दाबी छ । ‘दुई ठाउँमा विद्युत आयोजना सर्भे भएको छ’ उनले भने, ‘त्यही भएर पहिला नै पोल र तार खरिद गरेका हौं, निकट भविस्यमा नै विद्युत उत्पादन हुनेछ ।’

स्थानीय बासिन्दाले गाउँमा कँही कतै पनि विद्युत आयोजनाको सर्वे भएको जानकारी नभएको बताएका छन् । जिल्लामा हाल एउटा मात्र पाँच सय किलोवाटको शान्तिघाट साना जलविद्युत आयोजना रहेको छ । पोल गाडिएका गाउँहरुले नेपाल विद्युत प्राधिकरण कालिकोट शाखासँग कुनै सम्पर्क गरेका छैनन् । यस्तै त्यस क्षेत्रमा अहिले बिजुली लैजाने तयारी नरहेको नेपाल विद्युत प्राबिकरण शाखा कार्यालय कालिकोटले समेत स्पट पारेको छ ।

हचुवाको भरमा योजना

स्थानीय बासिन्दाले भने हचुवाका भरमा योजनाहरु छनौट भएको गुनासो गरेका छन् । स्थानीय आवश्यकता भन्दा पनि मिलेमतोमा स्वार्थ पूरा गर्न बिजुलीका पोल र तार खरिद गरिएको उनीहरुको आरोप छ । हचुवाका भरमा बिजुलीका पोल र तार खरिद गरिएको नरहरीनाथ गाउँपालिकाका सामाजिक कार्यकर्ता विरेन्द्रबहादुर बुढाले बताए ।

‘हचुवाको भरमा गाउँमा बिजुलीका पोल र तार खरिद गरियो’ उनले भने,‘यसमा तत्कालिन गाविस र राजनीतिक दलका बोर्ड सदस्यहरुले बजेटको चरम दुरुपयोग गरे, खर्च गरेको बजेटले कुनै उपलब्धी नै दिएन ।’ करौडो रुपैयाँ खर्च गरेर गाडिएका बिजुलीका पोल र तारहरु अहिले अलपत्र अवस्थामा छन् । यसरी अलपत्र पारिएका साविकका पाँच वटा गाविसमा गाडिएका बिजुलीका पोल र तारमा भएको वास्तविक खर्च उपलब्ध गराउनसमेत आनाकानी गरिएको छ । ‘ठुलो रकम दुरुपयोग भएको छ, त्यो योजना हामीलाई चाहिएकै थिएन’ स्थानीय रामबहादुर बटालाले भने,‘हचुवाका भरमा पोलहरु गाडियो, बजेट मात्र सक्ने काम गरे ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!