दुधकोसी पुल ढलान सुरु, महिना दिनपछि तराई–काठमाण्डौ सिधा यातायात

Posted on: 05 Oct, 2017


चिसाङ शेर्पा/असोज १९, खोटाङ । महिना दिनपछि खोटाङको समृद्धिको ढोका खुल्ने पक्का भएको छ । 

दुधकोशीमा पक्की पुल नभएका कारण यातायातमा समस्या झेलीरहेका खोटाङे जनताहरुको पिडा हट्ने निश्चित भएको हो । खोटाङ र ओखलढुंगाको जयरामघाटस्थित दुधकोसी पुल ढलानका काम सुरु भएपछि संमृद्धिको ढोका खुल्ने भएको हो ।

सम्झौता म्याद नाघेको ५ वर्षपछि बुधबारदेखि दुधकोसीको पुल ढलान सुरु गरिएको छ । ४ दिनमा पूरा हुने ढलानलाई महिना दिनसम्म क्यूरिङ गर्दै सुकाएपछि सञ्चालनमा आउने ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका साईड ईन्जिनियर सिताराम कार्कीले बताए । 

बिक्रम पाण्डेको हुलास इन्जिनियरिङ र दिवाकर गोल्छाको कालिका कन्स्ट्रक्सनले २०६८ साल असारसम्ममा पूरा गर्ने शर्तमा ०६६ साल भदौमा पुल निर्माणका लागि सम्झौता गरेको थियो । 

करिब १० करोडको लागतमा पूरा हुने भनिएको दुधकोसीको पक्की पुल निर्माणले हाल आशा जगाएको खोटाङ क्षेत्र नम्बर १ का सांसद पाँचकर्ण राईले बताउनुभयो । खोटाङको बाहुनीडाँडा र ओखलढुंगाको थाक्ले गाबिस जोड्ने जयरामघाटको पुल जिल्लाको प्रमुख नाका हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!