खोटाङमा दुई दिनदेखी विधुत र यातायात वन्द

Posted on: 14 Jul, 2019

चिसाङ शेर्पा | असार २९, खोटाङ | बिहीवार रातीबाट परेको अविरल वर्षाका कारण दुई दिनदेखी खोटाङमा यातायात र विधुत सेवा ठप्प भएको छ । वर्षासँगै ठाउँठाउँमा झरेको ठूलाठूला पहिरोका कारण यातायात सेवा वन्द भएका छन् । भने, शुक्रबार विहान उदयपुरको त्रियुगा खोलाले खोटाङतर्फ आउने ३३ केभी प्रशारण लाईनको विजुलीको पोल बगाउदा विधुत पनि अवरुद्ध बनेको छ । 

दिक्तेल–हलेसी सडक अन्तरगत अर्खोले र महादेवस्थान सिमाना बर्खेटारदेखी बडहरेसम्मका रुटमा २५ स्थानमा ठूलाठूला पहिरो झरेको हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख इवन राईले जानकारी दिए । पहिरो पन्छाउनका लागि नगरपालिकाको जेसिभिसहित मानवीय शक्ति खटाइएको नगरप्रमुख राईले जनाएका छन् । यस्तै, कटारी–घुर्मी र हर्कपुर–जयराम सडकका विभिन्न ठाउँमा पनि पहिरो झरेको छ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ मानेभञ्ज्याङको भँडारे खोलामा बाढीको लेदो आएर थुप्रिँदा सयौं सवारी साधन बीचैमा अलपत्र छन् । तराई तथा काठमाण्डौबाट खोटाङ आउने यात्रुहरु बिच बाटोमा अलपत्र परेका छन् ।

यस्तै, पानीको वहाव घटेपछि त्रियुगा खोलामा पौडी खेल्ने स्थानीयहरु खोजेर ढलेको पोलबाट तार खोलेर छोडिएको नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख राम दिनेश यादवले बताए । तार खोलेपछि त्रियुगा खोलाबाट नै कर्मचारी खटाइएर फल्ड स्थान खोजी भईरहेको छ । उनका अनुसार त्रियुगा–साउने–रसुवासम्म कर्मचारी खटाइएको छ । कर्मचारीसँग नै फोन सम्पर्क नभएकाले प्रगती विवरण लिनै समस्या भएको प्राधिकरणले जनाएको छ । वर्षाका कारण पहिरो जाँदा जिल्लाकै नुनथला, लेक्पा, छोरम्बु, सावाखोला, टेम्मा, चिप्रीङ, रसुवा लगायतका ठाउँमा ११ केभी प्रशारण लाईनको पोल पनि ढालेको छ । विधुत अवरुद्ध हुंदा जिल्ला अन्धकार भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!