वैशाख ८, धनुषा | दाइजो नदिएको भन्दै धनुषामा एक युवकले श्रीमतीलाई आगो लगाएर हत्या गर्ने प्रयास गरेको घटना बाहिरिएको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२० देवपुरा रुपैठाकी २८ वर्षीया श्वेता झाको शरीरमा उनका श्रीमान् राजीव झासहित उनको परिवारका अन्य सदस्य मिलेर आगो लगाएर हत्या गर्ने प्रयास गरेका हुन्।

घाइते श्वेता जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचाररत छिन्। श्रीमान् राजीव र उनको परिवारै मिलेर आफ्नो शरीरमा आगो लगाएको आरोप उनले लगाइन्।

श्वेताले आफूलाई श्रीमान् राजीव, ससुरा शिवशंकर झा, सासू र देवरलगायतले कुटपिट गर्दै शरीरमा आगो लगाएर मार्ने प्रयास गरेको उनको भनाइ छ।

विवाह भएको १० वर्ष बितिसकेको छ, उनले भनिन् दाइजोमा स्वीकारेको ३ तोला सुन अहिलेसम्म नदिएको भन्दै उनीहरुले मलाई विगतदेखि नै कुटपिट गर्दै आएका थिए,अहिले आगो लगाएर हत्या नै गर्ने प्रयास गरे।’

यही वैशाख १ गते राजीवले ९ वर्षीय छोरालाई कुटपिट गरेपछि छेक्ने क्रममा आफूलाई पनि उनले कुटपिट गर्दै आफ्ना भाइ, बुबा र आमाको सहयोगमा शरीरमा आगो लगाइदिएको आरोप श्वेताको छ।

राजीवको परिवारले आफूलाई मरणासन्न हुनेगरी कुटपिट गरेर शरीरमा आगो लगाए पनि यतिका दिनसम्म उपचारका लागि अस्पतालसमेत नल्याएको गुनासो उनले गरिन्।

घटनाबारे थाहा पाएपछि भारत विहारको दरभंगास्थित पोठिया माइती रहेकी श्वेताताका बुबा जयकुमार झा, भाइलगायत आफन्त आएर उनलाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएका छन्। श्वेताको घाँटीभन्दा तलको ३५ प्रतिशत भाग जलेको छ।

श्वेताका अनुसार विवाहका बेला श्रीमान् पक्षले ३ तोला सुन मागेको थियो। त्यतिबेला बुबाले २ लाख भारतीय रुपैयाँ दिए पनि कबुलअनुसार ३ तोला सुन भने अहिलेसम्म दिन सकेनन्। यही निहुँमा आफूलाई पतिसहित परिवारले पटक-पटक प्रताडना दिइरहेको दाबी श्वेताको छ।

April 21, 2023
समाज
दाइजो नदिएको भन्दै धनुषामा श्रीमतीको शरीरमा आगो लगाएर हत्या प्रयास
By साझासवाल
4 मिनेट पढाइ