वैशाख १७, काठमाडौँ | प्रसरस्वतीनगरकी निरा आचार्यको हत्यामा झापाका विनोद विश्वकर्मा एक्लै जिम्मेवार रहेको प्रहरीले जनाएको छ । आज पत्रकार सम्मेलन गरी प्रहरीले अहिलेसम्मको अनुसन्धानबारे जानकारी दिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा आइतबार आयोजित पत्रकार सम्मेलनमा एसएसपी दिनेश आचार्यले निराले लगाएको सुन लुट्ने उद्देश्यले हत्या भएको देखिएको बताए ।

हत्यामा संलग्नको आरोपमा प्रहरीले झापाबाट विनोद बिकलाई शनिबार पक्राउ गरेको थियो । उनलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ । ७ वैशाखमा निराको हत्यापछि उनले निराले लगाएको सिक्री लुट्नुका साथै काउन्टरमा भएको ११-१२ हजार रुपैयाँ लुटपाट गरेको आचार्यले जानकारी दिए ।

बिकले उक्त सिक्री बालाजुको एक सुन पसलमा ५५ हजार रुपैयाँमा बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ । निराको हत्याअघि बिकले उक्त पसल हेरेर फर्किएको र दोस्रो पटक गई हत्या गरेको पाइएको प्रहरीको भनाइ छ ।

आचार्यका अनुसार सुरुमा पसलमा गएर उनले भाँडाको मोलमोलाइ गरेका थिए । केही भाँडाहरु रोजिसकेपछि पैसा निकाल्ने बहानामा पसलबाट निस्किएको उनले जानकारी दिए ।

‘पसलबाट निस्किएएर १०/१५ मिनेटपछि दिउँसो २ः४४ मा फेरि फर्केर आक्रमण भएको देखिएको छ’, उनले भने । विश्वकर्माले पसलमै रहेको चक्कुले प्रहार गरेका थिए । उनले कुनै हतियार लगेका थिएनन् । हत्यापछि उनी त्यहाँबाट निस्किएर टेम्पु चढेर भागेको प्रहरीले जनाएको छ ।

निराको परिवारसँग यसअघि बिकको सम्पर्क भएको नपाइएको पनि प्रहरीले बताएको छ । ‘मृतक र मृतकका परिवारसँग यसअघि उसको सम्पर्क भएको देखिएन’ एसएसपी आचार्यले भने ।

बिकले आर्थिक समस्याका कारण लुटपाट गरेको पाइएको पनि एसएसपी आचार्यले बताए ।

April 30, 2023
समाज
भाँडा किन्ने बहानामा पसलमा पसेका थिए आरोपी, दोस्रोपटक आएर गरेका थिए हत्या
By साझासवाल
4 मिनेट पढाइ