<p><b>असार ३०, बैतडी | </b>महिलाको हत्या आरोपमा दुई वर्षपछि पक्राउ परेका मेलौली नगरपालिकाका ४४ वर्षीय गोरख दयाल कारागार चलान भएका छन् । डडेल्धुराको भागेश्वर गाउँपालिका–३ लामिकाँडेकी ३६ वर्षीया गीतादेवी मल्लको हत्या आरोपमा दयाललाई प्रहरीले यही असार दोस्रो साता पक्राउ गरेको थियो । मल्लको हत्यामा संलग्न रहको भन्दै जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।<br></p><p>विसं २०७८ साउन ८ गते बैतडीको मेलौली नगरपालिका–५ स्थित माइती घर आउँदै गरेकी मल्ल मेलौली नगरपालिका–७ ल्वाथलीमा मृतावस्थामा फेला परेकी थिइन् । शव फेला परेपसछि प्रहरीले घटनाबारे थप अनुसन्धान गर्दा गोरखको संलग्नता रहेको भन्दै गोरखलाई पक्राउ गरेको थियो ।</p><p>मृत्युभन्दा अघिल्लो दिन मल्ल गोरखको सम्पर्कमा आएको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरी निरीक्षक जोशीले बताए । गोरखविरुद्ध ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान गर्दा निजले प्रहरीसमक्ष मल्लको हत्या गरी शव फालेको भनी बयान दिएका थिए ।</p>
July 15, 2023
समाज
महिलाको हत्या आरोपी दुई वर्षपछि कारागार चलान
By साझासवाल
2 मिनेट पढाइ










