भदौ ८, काठमाडौँ | केन्द्रीय अनुसन्धान ब्यूरोले ६० किलो सुन प्रकरणमा आफूसँग भएको सूचना उपलब्ध गराउन सार्वजनिक अपिल गरेको छ । शुक्रबार ब्यूरोले एक सूचना जारी गरी गिरोहले भन्सार छली ल्याएको सुनबारे सूचना उपलब्ध गराउन भनेको हो ।

बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ६० किलो सुन प्रकरणमा सरकारी उच्च अधिकारी र पत्रकारहरुसमेत संलग्न भएको आफू सूचना भएको संसदमै बताएका थिए ।

नेकपा एमालेका नेता गोकुल बास्कोटाले पनि ३०० क्विन्टल बढी सुन तस्करी भएका सूचना आफूहरुसँग रहेको दावी गरेका थिए ।

बिभिन्न गिरोहले अवैध रुपमा भन्सार छली ल्याएको सुन प्रकरणका सम्बन्धमा केही दिनयता विभिन्न सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित भएको समाचारमा ध्यानाकर्षण भएको सीआईबीले बताएको छ ।

कसैसँग केही सुचना, तथ्य वा प्रमाण भए ब्यूरोको इमेल ठेगाना [email protected] मा पठाएर सहयोग गर्न भनिएको छ । व्यूरोका सुचना अधिकारीको सम्पर्क नम्बर ९८५१२९१३११ समेत उपलब्ध गराइएको छ ।

सूचनामा उल्लेख भएअनुसार आफूसँग भएका सुचना, तथ्य वा प्रमाण यस कार्यालयमा प्रत्यक्ष रुपमा आएर दिन पनि सकिन्छ । यसरी प्राप्त भएको जानकारी वा सुचनाको श्रोत गोप्य रहने ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बताएका छन् ।

सूचनामा भनिएको छ, ‘आम नागरीकको साथ सहयोग र सहकार्यबाट अपराध अनुसन्धान सत्य र तथ्यमा पुग्ने हुँदा सो कार्यमा सकारात्मक सहयोगको अपेक्षा गर्दछौ ।’

August 25, 2023
समाज
सीआईबीले माग्यो सुन तस्करीबारेको सूचना, रवि र गोकुलले देलान् ?
By साझासवाल
3 मिनेट पढाइ