पढ्न करिब 1 मिनेट लाग्छ

असोज १२, सिन्धुली | बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–३ बोहोरेटार नजिक भ्यान दुर्घटना हुँदा ११ जना शिक्षक घाइते भएका छन्।

सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेस प्रदेश ०४–००१ ज ००६२ नम्बरको विद्युतीय गाडी (भ्यान) शुक्रबार बिहान ७:५० बजेतिर दुर्घटनामा परेको हो। दुर्घटनामा परेको भ्यानमा आन्दोलनका लागि काठमाडौं आउँदै गरेका राहत शिक्षकहरु सवार थिए।

सुनकोसी गाउँपालिकाकी अध्यक्ष दीपा बोहोरा (दाहाल)ले घाइतेहरूलाई धुलिखेल अस्पताल लगिएको जानकारी दिइन्। भ्यानका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।

घाइते हुनेमा दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने ४६ वर्षीय निरकुमार चालिसे, कमलामाई–५ बस्ने ४६ वर्षीया कमला घिमिरे, कमलामाई–१ बस्ने ३४ वर्षीय मुकुन्द थापा, सोही ठाउँका ४१ वर्षीय भुवन थापा छन्।

यस्तै, कमलामाई नगरपालिका–४ बस्ने ४० वर्षीया बबिता देवकोटा, कमलामाई–६ बस्ने ४६ वर्षीय विष्णु ढकाल र उनका ११ वर्षीय छोरा निश्चल तथा कमलामाई–६ का ४० वर्षीय सरोज थापा पनि घाइते भएका छन्। सिन्धुलीकै तिनपाटन गाउँपालिका–१० बस्ने ४० वर्षीय राजन कार्की र काभ्रेको बनेपा नगरपालिका वडा नम्बर १० बस्ने ४० वर्षीया गार्की बस्नेत पनि सोही दुर्घटनामा घाइते भएका प्रहरीले जनाएको छ।