पढ्न करिब 1 मिनेट लाग्छ

असोज ३०, काठमाडौँ | रुकुम पश्चिमको सदरमुकाम मुसिकोटको एक होटेलमा एक महिलाको शव फेला परेको छ ।

मुसिकोट नगरपालिका १ खलंगा बजारमा रहेको होटेल सत्कारमा एक महिला मृत अवस्थामा भेटिएकी हुन् ।

मृतकको पहिचान भने खुलेको छैन । होटेलको कोठा नम्बर १ मा महिलाको शव भेटिएको हो ।

प्रहरीका अनुसार त्रिवेणी गाउँपालिका ठेगाना भएका विकास केसीको नामबाट गत आइतबार होटेलको कोठा बुक भएको देखिन्छ ।

सिरकले शव छोपेको अवस्थामा महिलाको शव रहेको छ । घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको टोली आउने भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार नेपाल प्रहरीको केनाइन कुकुर शाखा कोहलपुरबाट तालिमप्राप्त कुकुर र प्रदेश प्रहरी कार्यालयबाट अनुसन्धान टोली आउन लागेको हो ।

कुकुरसहितको टोली आउन लागेकोले शव नचलाइएको र होटेलमै सुरक्षा दिइरहेको उनले बताए ।