पुस २३, काठमाडौँ | १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले आइतबार उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

विमानस्थल भन्सार कार्यालयले २२ मंसिरमा यूएईबाट ल्याइएको १४ किलो सुनसहित चन्द्र घलेलाई पक्राउ गरेको थियो । उनको बयानका आधारमा गोरखाका मीनबहादुर घले पक्राउ परेका थिए ।

अनुसन्धानका क्रममा विमानस्थलका नागरिक उड्डयन कार्यालयका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, सेवा निवृत्त भएर करारमा कार्यरत कर्मचारी रमेश देउला, एसी शाखामा काम गर्ने सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेतको संलग्नता खुलेको थियो ।

उनीहरु सबैलाई सुन तस्करीको मुद्दामा थुनामा पठाउने आदेश भएको भन्सारले जनाएको छ । भन्सारले यो मामलामा क्रिप्टोकरेन्सी र मानवबेचबिखन पनि जोडिएको भन्दै थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई पनि पत्राचार गरेको छ

यो प्रकरणमा जोडिएका दुई जना अझै फरार छन् । व्यवसायी विमल पोद्दारसहित अंकित अग्रवाल, राजेन्द्र बस्नेत, राज कुमार भारती, जीवन गुरुङ र गुरु भनिने भारतीय नागरिकबारे पनि अनुसन्धान गर्न सरकारी वकिलले भनेको छ ।

January 8, 2024
समाज
१४ किलो सुन प्रकरणमा ८ जनालाई थुनामा पठाउने आदेश
By साझासवाल
3 मिनेट पढाइ