फागुन १७, काठमाडौं | यसअघि आफूले दिएको फैसला उल्लंघन गर्दै भ्रमपूर्ण विज्ञापन गरेको भन्दै भारतको सर्वोच्च अदालतले पतञ्जली आयुर्वेदमाथि पूर्ण रुपमा प्रतिबन्ध लाग्नसक्ने चेतावनी दिएको छ ।

मंगलवार अदालतको अवहेलनासम्बन्धी मुद्दामा सुनुवाइ गर्दै भारतको सर्वोच्च अदालतले पतञ्जलीले आफ्ना उत्पादनबाट केही रोगको निदान हुने भन्दै सम्पूर्ण देशलाई झुक्याएको बताएको छ ।

बाबा रामदेव तथा आचार्य बालकृष्णले सञ्चालन गरेको पतञ्जलि आयुर्वेदका उत्पादन नेपालमा पनि लोकप्रिय छन् ।

यसअघि गत नोभेम्बरमा सर्वोच्च अदालतले पतञ्जलिका उत्पादनले कुनै रोगको उपचार हुने भन्दै भ्रमपूर्ण विज्ञापन बन्द गर्न आदेश दिएको थियो । औषधिले कुनै रोग निको पार्छ भन्दै विज्ञापन गर्नु कानूनविपरीत हुने पनि सर्वोच्चले त्यसबेला भनेको थियो ।

यस्तो कार्य दोहोर्याए पतञ्जलीलाई एक करोड रुपैयाँ जरिवाना गर्ने चेतावनी पनि अदालतले त्यसबेला दिएको थियो । तर, पतञ्जली आयुर्वेदले विभिन्न मिडियामा भ्रमपूर्ण विज्ञापन गर्न नरोकेको भन्दै इन्डियन मेडिकल एसोसियसनले सर्वोच्चमा अदालतको अवहेलनाको निवेदन दिएको थियो ।

सो निवेदनमा सुनुवाइ गर्दै भ्रमपूर्ण विज्ञापन गरी देशका सम्पूर्ण नागरिकमाथि धोकाधडी भएको अदालतले जनाएको छ । अदालतले भ्रमपूर्ण विज्ञापन तत्काल बन्द गर्न र पतञ्जली आयुर्वेद र त्यसका सञ्चालक आचार्य बालकृष्णलाई तीन साताभित्र अदालतमा प्रतिउत्तर पठाउन पनि आदेश दिएको छ ।

‘सर्वोच्चले यसअघि चेतावनी दिँदादिँदै पनि तपाईंहरु आफ्ना उत्पादन एलोप्याथिक औषधिहरुभन्दा राम्रा छन् किन भनिरहनुभएको छ ?’ सर्वोच्चका न्यायाधीशहरु हिमा कोहली र ए अमनुल्लाहले दिएको आदेशमा भनिएको छ । त्यस्ता विज्ञापनमा प्रस्तुत भएका आचार्य बालकृष्णका अतिरिक्त बाबा रामदेवलाई पनि अदालतको अवहेलनाको सूचना पठाउने आदेश भएको छ ।

इन्डियन मेडिकेल एसोसियसनका तर्फबाट बहस गरेका अधिवक्ता पीएस पट्वालियाले भने, ‘बाबा रामदेवको पतञ्जलिले गरेको विज्ञापनमा मधुमेह तथा दमको रोग उनीहरुको औषधिले निको बनाउने दाबी गरिएको छ, जुन कानूनको उल्लंघन हो ।’

सर्वोच्च अदालतले मधुमेह तथा उच्च रक्तचापको उपचार हुने विषय देखाउने विज्ञापनको कुनै प्रतिरक्षा हुन नसक्ने पनि उल्लेख गरेको छ । ‘मधुमेहबाट पूर्ण रुपमा छुटकारा मिल्छ भनेर तपाईं के भन्दै हुनुहुन्छ ? यसका दुई मतलब हुन्छन्– कि मृत्यु कि त उपचार ?’ सर्वोच्चले निकै कडा भाषामा पतञ्जलीलाई सोधेको छ, ‘सर्वोच्च अदालतको आदेशको विपरीत गएर फेरि पनि भ्रमपूर्ण विज्ञापन गर्ने हिम्मत तपाईंहरुले गरिरहनुभएको छ, यसको अर्थ तपाईंहरुलाई हामी जे पनि गर्न सक्छौं भन्ने लाग्छ ? तपाईंहरु अदालतलाई प्रलोभनमा पार्दै हुनुहुन्छ ?’

यस विषयमा अदालतले अत्यन्तै कडा नियम ल्याउने पनि आदेशमा भनिएको छ ।

February 29, 2024
समाज
पतञ्जली आयुर्वेदमाथि प्रतिबन्ध लाग्नसक्ने भारतको सर्वोच्च अदालतको चेतावनी
By साझासवाल
6 मिनेट पढाइ