साउन १८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा बयान फेरेको आरोपमा दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

चितवनको कालिका नगरपालिका–६ घर भई हाल पोखरा महानगरपालिका–१० बस्ने केशरीप्रसाद तिवारी र उर्मिला पौडेलविरुद्ध अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनीहरूले घुस लेनदेनसम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र गरी भ्रष्टाचार गरेको ठहर अख्तियारले गरेको छ । अख्तियारले यसअघि विशेष अदालतमा दर्ता घुस लेनदेनसम्बन्धी एक मुद्दामा उनीहरूलाई सरकारी साक्षीको रूपमा प्रस्तुत गरेको थियो ।

तिवारी र पौडेलले आयोगमा अनुसन्धान अधिकृतसमक्ष गरेको बयान कागजको प्रतिकूल हुने गरी बकपत्र गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा उनीहरूले प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएपछि अख्तियारले मुद्दा दायर गरेको हो । दायर गरिएको मुद्दामा उनीहरूसँग साढे तीन लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।

August 2, 2024
समाज
अदालतमा बयान फेरेपछि दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
By साझासवाल
2 मिनेट पढाइ