पढ्न करिब 1 मिनेट लाग्छ

असोज २५, काठमाडौँ । प्रा डा गोविन्द केसीले न्यायपालिकामा न्याय हराएको बताउनुभएको छ ।

सात दिनदेखि चिकित्सा शिक्षा र चिकित्सा क्षेत्रमा सुधारको माग राखी शिक्षण अस्पताल, महाराजगञ्जमा १३औँ पटकको आमरण अनशन बसिरहनुभएका केसीले रासससँग कुरा गर्दै न्यायपालिकाको मर्यादाका लागि नागरिकको हैसियतबाट आन्दोलन गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “न्यायपालिका न्यायविहीन भएको छ, जनताको सेवक हुनुपर्ने न्यायपालिकाका न्यायकर्ताले हाकिम बनेर शासन गर्न हो भने न्याय खोज्न जनता कहाँ जाने ? यसको विरुद्धमा लड्नु सबै नेपालीको कर्तव्य हो ।”

प्रा डा केसीले आफूले सदैव चिकित्सा शिक्षा र चिकित्सा क्षेत्र सबै नेपालीका लागि सहज हुनुपर्छ भनेर चिकित्सकका हैसियतमा लडाइँ लडिरहेको बताउँदै अब न्यायपालिकाका गलत फैसलाविरुद्ध लडाइँ लड्ने स्पष्ट पार्नुभयो ।

उहाँले भ्रष्टाचार मुद्दा लागेका आयल निगमका महानिर्देशक गोपाल खड्कालाई न्यायालयले उन्मुक्ति दिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको थियो । उहाँले सरकारका सबै अंगलाई सम्मान गर्ने भन्दै त्यसलाई सञ्चालन गर्ने राजनीतिक व्यक्ति र राजनीतिक दलले खराब बनाएको आरोप लगाउनुभयो ।

डा केसीले संशोधनसहित तत्काल चिकित्सा शिक्षा विधेयक कात्तिक ४ गते संसद्को कार्यकालअघि नै पारित गर्न अनुरोध गर्नुभएको छ । डा केसीले अनसनको छैटौँ दिनसम्म सरकारका तर्फबाट कुनै किसिमको प्रतिक्रिया नआएको पनि जानकारी दिनुभयो । रासस