पढ्न करिब 2 मिनेट लाग्छ

पुस २८, काठमाडौँ, नेपाली नागरिक लक्ष्मीसुन्दर गाइन्जू श्रीलंकामा ‘नागरिक वीरता स्वर्ण पदक’द्वारा सम्मानित हुनुभएको छ ।

गाइन्जूलाई श्रीलंकाको राजधानी कोलम्बोमा बुधबार आयोजित विशेष समारोहमा त्यहाँका सभामुख करु जयसूर्याले सम्मान गर्नुभएको हो । सो सम्मान पाउने गाईन्जू पहिलो नेपाली नागरिक हुन् ।

नेपालमा विसं २०७२ वैशाख १२ गते गएको भूकम्पमा आफ्नो ज्यानको परवाह नगरी सर्वसाधारणको उद्धार गरे बापत गाइन्जूलाई सो पदकद्वारा सम्मानित गरिएको हो । गाईन्जूले उक्त दिन भक्तपुरको जेँला टोलमा भूकम्पले घर भत्किएर च्यापिएका आठ परिवारका २१ जनाको जीवितै उद्धार गरेका थिए । उहाँ भूकम्पपछि निरन्तर पीडितको सेवामा खटिँदै आउनुभएको छ ।

“गाइन्जूको काम साँच्चै नै प्रशंसनीय छ र त्यो अरुलाई पनि उत्प्रेरित गर्ने उदाहरण बनोस् भनेर पदक प्रदान गर्न पाउँदा आफूलाई ठूलो सन्तोष मिलेको छ,” सभामूख जयसूर्याले भन्नुभयो ।

उक्त कार्यक्रममा मनोनयनकर्ताका तर्फबाट विशेष रुपमा आमन्त्रित डा दिनेशराज भुजुले नेपालमा आएको भूकम्प र त्यतिखेर स्वयंसेवी युवाले पू¥याएको थुप्रै उदाहरण भएको बताउनुभयो । “गाइन्जू ती असल र हिम्मति युवाहरुको प्रतिनिधि पात्र हुन्,” उहाँले भन्नुभयो ।

विश्वका विभिन्न देशमा बेला–बखतमा प्राकृतिक बिपद्हरु आइरहने र त्यस्तो अवस्थामा स्वयंसेवाको भावनाले उत्प्रेरित भएर ज्यान बचाउन लागिपर्ने असल नागरिकको सम्मान गर्ने परम्परा बसाउन बिगत पाँच वर्षदेखि सो पुरस्कार प्रदान गरिँदै आएको नागरिक वीरता संस्थाका संस्थापक अध्यक्ष कसुन चन्द्ररत्नेले बताउनुभयो । यसअघि उक्त पदकबाट माल्दिभ्स र पाकिस्तानका नागरिकलाई सम्मान गरिएको थियो ।

“भूकम्पको बेला पीडितको उद्धार गर्न जाँदा मैले यस्तो पदकबाट विभूषित हुनेछु भनेर कहिले आश गरेको थिइनँ, त्यस्तो विचारले काम गरेको पनि होइन । त्यतिबेला मनमा धेरै मानिसको ज्यान बचाउने सोच मात्र थियो,” सम्मानित भएपछि गाइन्जूले भन्नुभयो ।

सो अवसरमा सगरमाथाको सफल आरोहण गर्ने पहिलो श्रीलंकाली महिला जयन्ति कुरु–उतुम्पलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा श्रीलंकाका सांसद, श्रीलंकाका लागि नेपालका राजदूत, पूर्व मन्त्रीहरु, कलाकार, प्राध्यापकलगायतको उपस्थिति रहेको थियो । रासस