भिम लामा | जेठ २२, काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा माकलबारी टोल सुधार समिति गोकर्णेश्वरले आयोजना गरिएको कार्यक्रममा कानुन, न्याय तथा संसदीय ममिला मन्त्री सेरबहादुर तामाङले वातावरण स्वच्छ राख्न प्रत्येक नागरिकले आफ्नै घर र टोलबाट अभियान थाल्नुपर्ने बताए ।
मानवीय संवेदनशीललाई वातावरणले प्रत्यक्ष रुपमा असर गरिरहेको हुदा यसको सरसफाईमा महत्वपूर्ण ध्यान दिनुपर्ने बताए । पर्यटक भित्र्याउनका लागि हरियाली, स्वच्छ र सुन्दर वातावरण निर्माण गर्न सबैले विशेष भूमिका निभाउनुपर्नेे उनले जिकिर गरे । प्रमुख अतिथि समेत रहेका मन्त्री तामाङले भने – “मेलम्चीको पानी अब काठमाडौमा छिटै आउँछ, मेलम्चीको पानी सुन्दरीजल हुँदैं घर–घरमा जानेभन्दा बढी पानी बाग्मति खोलामा बग्नेछ । त्यही पानीलाई वैज्ञानिक विधिबाट आर्थिक आम्दानीको स्रोतमा परिणत गर्न सकिन्छ ।” मन्त्री तामाङले वातावरणलाई प्रत्यक्ष रुपमा असर पार्ने प्लास्टिकजन्य पदार्थलाई रोक्नका लागि कानुन निर्माण हुने र त्यसको वैकल्पिक उपयाका बारेमा समेत ध्यान दिने कुरा उल्लेख गरे ।
त्यस्तै सो कार्यक्रममा काठमाडौं ३ बाट निर्वाचित सांसद कृष्ण राईले क्षेत्रकै परिवर्तन र विकासका लागि जनताकै सहयोग र सुझावलाई आत्मासाथ गर्दै अघि बढ्ने प्रतिवद्धता गरे । जनताको आवश्यकतालाई अभाव हुन नदिन आफु खटिरहने र जनस्तरबाट आएको समस्याको सम्बोधन गर्दै लैजान निरन्तर लागि पर्ने बताए ।

कार्यक्रममा गोकर्णेश्वर नगरका मेयर सन्तोष चालिसेले स्वच्छ नगरको रुपमा स्थापित गर्न अभियानसंगै सबैले सोँचमा परिवर्तन ल्याउन जरुरी रहेको बताए । आफु निर्वाचित भएर आएपछि पहिलो प्राथामिकताका साथ फोहोर व्यवस्थापन गर्न लागि परेको भन्दै प्रत्येक वडा, टोल र महिला संघसंस्थालाई अभियानमा संलग्न गराउँदै आएको बताए । उनले भने फोहोर जथाभावी फालेमा जरिवानासहित प्रहरी थुनामा राख्ने कानुन निर्माणको तयारी रहेको पनि उल्लेख गरे । मेयर चालिसेले प्रत्येक घरधनीले सेफ्टी ट्यांकी निर्माण गर्नुपर्ने र आ–आफ्नै घरबाट फोहोरको पहिचान गरी व्यवस्थापन गर्न आग्रह गरे । नगर विकास र उत्थानका लागि खानेपानी, फोहोर व्यवस्थापनका लागि जापानबाट अत्याधुनिक प्रविधि ल्याउने तयारी भइरहेको जिकिर गरे ।

टोल सुधार समितिका अध्यक्ष पेमा छिरि शेर्पाले परिवर्तन आफैबाट गर्नुपर्ने उल्लेख गर्दै देशभरि नै सकारात्मक शन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । समितिले फोहोरमैला व्यवस्थापन सम्बन्धि विभिन्न तालिम तथा प्रयोगात्मक परिक्षण समेत गराईसकेको जानकारी दिए । कार्यक्रममा विभिन्न ३० भन्दा बढि विद्यालयका विद्यार्थी , शिक्षक, सामाजिक संघसंस्था तथा स्थानीयवासीहरुको सहभागी रहेको थियो । “सके पुनः प्रयोग गरौं, नसके बहिस्कार गरौं, प्लास्टिक प्रदूषण निर्मूल पारौं ” भन्ने नारामा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरुलाई वाक प्रतिस्पर्धा समेत गरि प्रमाणपत्र वितरण गरेको टोल सुधार समितिका सचिव बिनित अर्यालले जानकारी दिए ।
