पढ्न करिब 2 मिनेट लाग्छ

कात्तिक २०, सानफ्रान्सिस्को | अमेरिकी मध्यावधि चुनावमा हस्तक्षेप गर्ने कोसिसमा रहेका एक सय १५ विदेशी व्यक्ति एवं संस्थाका फेसबुक एकाउन्ट (खाता) बन्द गरिएको छ । अमेरिकी प्रहरीको चेतावनीपछि फेसबुकले बन्द गरेका खातामा ८५ वटा इन्स्टाग्राम खाता समेत रहेका छन् ।

अमेरिकी कानुन कार्यान्वयन तथा जासुसी संस्थाहरुले रुसीहरुले फेसबुक मार्फत नक्कली समाचार (फेक न्यूज) फैल्याएको बताएलगत्तै फेसबुकले उक्त घोषणा गरेको हो । अमेरिकामा मङ्गलबार मध्यावधि चुनाव हुँदैछ ।

गत साता प्रकाशित एक अध्ययनमा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनको भन्दा बढी मात्रामा यसपटक सामाजिक सञ्जाल मार्फत गलत सूचना प्रवाह भएको देखिएको छ । राष्ट्रपतीय निर्वाचनताका राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा रुसीहरुले सामाजिक सञ्जालको दुरुपयोग गरी सघाएको आरोप लाग्दै आएको छ ।

“आइतबार साँझ, अमेरिकी कानुन कार्यान्वयन निकायले अनलाइन गतिविधिका बारेमा हामीसँग सम्पर्क राखेका थिए । उनीहरुको विचारमा ती खाताहरु विदेशी व्यक्ति एवं संस्थासँग सम्बन्धित थिए,” फेसबुकका साइबर सुरक्षा नीति प्रमुख नाथानिल ग्लेचरले बताउनुभयो । “हामीले तत्कालै ती खाता बन्द गरिदियौं र हामी अहिले त्यसका बारेमा विस्तृत रुपमा बुझ्ने क्रममा छौं ।”

ग्लेचरको भनाइ अनुसार फेसबुकका ३० र इन्स्टाग्रामका ८५ खाता भएका व्यक्ति एवं संस्थाका कृयाकलाप शङ्कास्पद रहेको पहिचान भएको छ । उक्त खाताहरु फ्रान्सेली र रुसीसँग सम्बन्धित रहेको पाइएको छ ।

अमेरिकी मध्यावधि चुनावमा फेसबुक मार्फत हुनसक्ने गडबडी रोक्न फेसबुकले व्यापक जनशक्ति परिचालन गरेको छ । यो कार्यका लागि फेसबुकले करिब २० हजार कर्मचारी खटाएको छ ।