वैशाख १८, काठमाडौँ | भूकम्पपछी गोरखाका सुदर्शन पराजुली (नाम परिवर्तन) काठमाडौँको काभ्रेस्थलीमा कृषि गर्न भन्दै काठमाडौँ आए । सुरुवातमा सानो लगानीमा उनले केहि जग्गा भाडामा लिएर टमाटर खेति गर्न थाले । केहि महिना कृषिमा व्यस्त उनि बिस्तारै त्यहाँको धेरै कुराको ज्ञान राख्न थाले । दैनिक जग्गा खोज्न आउनेहरुलाई उनले जग्गा सम्बन्धि बिबिध जानकारी दिन थाले । बिस्तारै उनि त्यस क्षेत्रको ख्यातीप्राप्त जग्गा कारोवारीको लागि सहयोगी बने ।
आजकाल उनको काम कृषिमा कम र जग्गा किनबेचमा एजेन्टको काम गर्नु बढी भएको छ । उनले एकै जग्गा पछिल्लो २ बर्षमा ५ जनासम्मलाई किन/बेच गर्न सहयोगी भूमिका खेलेका छन् । अचम्मको कुरा त के छ भने जग्गा बेच्ने जग्गा धनी र किन्ने दुवै पक्षसँग उनले बिभिन्न नाममा कमिसन लिने गरेका छन् । एक बर्षअघि उनले जग्गा धनीसँग मिलेर एउटा २ रोपनीको जग्गा ६ जनाको समूहलाई किनाए । झन्डै २ करोडमा कारोवार भएको उक्त जग्गा किन्ने समूह खोजेबापत उनले ६ लाख कमिसन पाएका थिए । उक्त जग्गाबाट आएको मोटो रकम न उनले सरकारलाई आम्दानिको रुपमा देखाउनु पर्थ्यो न ठूलो परिश्रमनै गर्नु पर्यो । उनको लागि कृषि भन्दा पनि जग्गा दलाली निकै फापेको छ । कृषि गर्दा बर्षभरी दु:ख गर्दा कमाउन नसकिने पैसा दलालीबाट छोटो समयमै कमाउन सकिने भएपछि पराजुली आजकल जग्ग्गा किनबेचमा बढिनै सक्रिय हुन थालेका छन् । उनले अरु एजेन्ट मार्फत जग्गा किन्न आउनेलाई भड्काउने देखि बिभिन्न सपना देखाएर मानिसलाई जग्गा किन्न प्रेरित गर्ने अद्भुत कला सिकीसकेका छन् ।
उनले २०७४ को अन्त्यतिर ६ जनाको समूहलाई उनि आफैले किनाएको दुई रोपनीको एक कित्ता जग्गा कित्ताकाट गर्न नसकेर ६ जनाले प्रतिव्यक्ति ७० हजार तिरेर कित्ता काट गर्नुपर्ने भन्दै प्रस्ताव गरे । जग्गा किन्ने व्यक्तिहरुले मालपोत कार्यालय पुगेर आ-आफ्नो नाममा उक्त दुई रोपनीको जग्गा टुक्र्याउन निवेदन दिए तर आफ्नै प्रयासमा कित्ताकाट गर्न सकेनन् । सजिलै कित्ताकाट गर्न नसके पछि जग्गा किन्नेहरुले तिनै एजेन्टसँग सम्पर्क गरे । ति एजेन्टले आफूले सजिलै कित्ताकाट गर्न सक्ने भन्दै प्रति व्यक्ति ७० हजार दिनुपर्ने भन्दै प्रस्ताव गरे ।
जग्गा कित्ताकाट नगरी राख्नु भन्दा बरु तिनै एजेन्ट र मालपोतका कर्मचारीको मिलिमतोमा प्रतिव्यक्ति ७० हजार तिरेर भएपनि कित्ताकाट गराउने मनस्थिति उनीहरुले बनाए । जसले जग्गा किन्न सहयोग गर्यो, उसैले कित्ताकाटमा सहयोग गर्यो । ति एजेन्टले बिभिन्न प्रलोभनमा पार्दै जग्गा किनाएका थिए । उनले भनेका थिए 'यो जग्गा किन्नुस् एकदुई बर्षमै प्रति आना ४/५ लाख फाइदा हुन्छ ।' आदि इत्यादी । उनकै सहयोगमा प्रतिव्यक्ति ७० हजार बुझाएर एउटा कित्ता जग्गा ६ टुक्रा भयो । कुल ४ लाख २० हजार तिनै एजेन्टलाई तिरेर कित्ताकाट गराउन उनीहरु सफल भए । मालपोत कर्मचारीहरुसँगको मिलिमतोमा उनले उक्त रकमबाट पनि केहि कमिसन पाएका थिए । त्यसले पनि नपुगेर कित्ताकाट गर्नेहरुसँग आफूले सहयोग गरेको भन्दै ५/५ हजार मागे ।
ति ६ जना जग्गाधनीहरुको जग्गा समस्या अझै समाधान भई सकेको थिएन । उनीहरुले फेरी हालसाविक गर्ने काम गर्नुपर्ने थियो । हालसाविकको लागि ति एजेन्टले फेरी कर्मचारीलाई खुवाउनुपर्ने भन्दै प्रति व्यक्ति २५ हजार मागे । जग्गाधनीहरु सहमत भए र पैसा दिए । पैसा बुझाएकै दिन कर्मचारीहरुले फिल्ड नापजाँच गरेर हालसाविकको प्रक्रिया सुरु गरेर केहि दिनमै काम भयो । यो कामबाट पनि कर्मचारी र ति एजेन्टबीच मिलिमतो भएको स्पष्ट थियो । कर्मचारीले लिएको पैसाबाटै उनले पनि केहि कमिसन पक्का पाएका थिए ।
आजकल उनि प्रायजसो यस्तै काममा कहिले फिल्ड, कहिले मालपोत त कहिले हालसाविक कार्यालयमा भेटिन्छन् । कर्मचारीहरुको विश्वासिलो साथि बनेका ति एजेन्ट अब नामुद जग्गा दलाल बनिसकेका छन् । सर्वसाधारणले सरकारी कार्यालयमा सेवा लिन जाँदा भोग्ने सास्ती उनको सहयोगमा पैसा तिरेर जाँदा सजिलै पाउन सक्ने भएपछि सेवाग्राहीहरु पैसा तिर्नुमै सजिलो ठान्छन् ।
काठमाडौँको जग्गाको भाउ जसरी बढ्छ त्यसै अनुसार ति एजेन्टको कमिसन रेट र सरकारी कामको रेट बढ्छ । जग्गा किन्नेले किनेको र खर्च गरेको दरमा थप फाइदाको रकम राखेर पुन: अर्कोलाई त्यहि जग्गा बिक्रि गर्दा अर्को पटक किन्नेले थप बढेको भाउमा जग्गा किन्छ र जग्गाको मूल्य कारोवार र समय अनुसार एकोहोरो बढ्दै गएको छ । भूकम्प अघि ५ लाख प्रति आनामा पाइने जग्गा अहिले त्यसको दोब्बर भन्दा बढी बढेको छ । जग्गा कित्ताकाट र हालसाविकको नाममा सम्बन्धित कार्यालयका कर्मचारीहरुले मोटो रकम सेवाग्राहीहरुसँग अशुली गर्दै आएका छन् । यस्तै बेथितिको फाइदा उठाई सरकारी तथा व्यक्तिगत जग्गा हडप्ने देखि हालसाविक तथा बोभिन्न बहानामा भू-माफियाहरुको चरम मनपरी कायम छ । घर/जग्गा मापदण्ड देखि बिभिन्न नामका कमिसनले घर/जग्गा कारोवारमा एजेन्टहरुको बिगबिगीछ ।
दलाली गर्नेहरुलाई आयस्रोतको पनि कुनै प्रकारको छानबीन छैन जसको कारण दैनिक यस्ता क्रियाकलाप मौलाईरहेका छन् । जग्गा किनवेचमा नेपाली सेनाका जवानदेखि सर्वसाधारणको समेत संलग्नता छ । आफै डुब्ने स्थितिमा पुर्याई आफै उद्दार गर्दै उनीहरुले पटकैपिच्छे कमिसन लिने गरेका छन् ।
खाली जग्गा भएका उपत्यकाको बाहिरी भागमा बिहान र बिदाको दिन चिया पसलदेखि चोक-चोकसम्म दलालहरूको झुण्ड बाक्लै भेटिन्छन् । मोटो रकम कमाइने, कतै दर्ता गर्नु पनि नपर्ने, सरकारलाई कर तिर्नु पनि नपर्ने र कसैप्रति जवाफदेही पनि हुनु नपर्ने भएपछी यो व्यवसाय निकै आकर्षित बनेको छ । पछिल्लो बर्ष २०७५ मा मात्र १६ जनालाई जग्गा बेचेको बताउने पराजुलीले प्रति जग्गा कम्तिमा १ लाख कमिसन पाएको बताएका छन् । जति ठूलो क्षेत्रफलको जग्गा वा जग्गाधनीले भने भन्दा जति बढीमा बेच्न सकिन्छ त्यसै आधारमा कमिसन पाउने गरेको उनले खुलाशा गरे । उनले मन्द मुस्कान सहित भने 'मासिक १/२ लाख कमाउन पनि के विदेश जाने ?'
भोलि यस्तो हुने/उस्तो हुने भन्दै उधारा योजना देखाएर जग्गा बिक्री गराउनमा उद्दत हुनुको साथै दलालहरू एक–आपसमा मिलेर भाउ ह्वात्तै बढाउने गरेका छन् । उपत्यकामा दलालले जग्गा मिलाइदिएबापत खरिद–बिक्री मूल्यको ३ देखि ५ प्रतिशत कमिसन माग्छन् भने कतिपयमा घरजग्गा बेच्नेसँग तालमेल गरी प्रतिआना थप २५ हजार देखि २ लाखसम्म पनि उठाउन भ्याउँछन् ।
जग्गाधनीसँग ठूलो क्षेत्रफलको जग्गा किनेर बाटो हालेर प्लटिङ गरि चर्को मूल्यमा बेच्नेहरूको पनि बिगबिगी छ । ‘प्लटिङ’ मा दलालले सुरुमै प्लट बैना गर्ने र पछि ग्राहक खोजेर बढी मूल्यमा बेच्ने अनि ठूलो फाइदा लिने गरेका छन् । बिक्री गरिसकेपछी जग्गाधनिले अनावश्यक विवादको सामना गर्नुपरे त्यसलाई मिलाउने क्रममा समेत ति एजेन्टहरुले सहयोग गरेझै गरेर कमिसन लिने गरेका छन् ।