पढ्न करिब 1 मिनेट लाग्छ

जेठ १२, मेक्सिको सिटी । मेक्सिकोमा भएको हेलिकोप्टर दुर्घटनामा परी पाँच सैनिकसहित छ जनाको मृत्यु भएको छ ।

जंगलमा लागेको आगो निभाउन गएको हेलिकोप्टर शुक्रबार दुर्घटनामा परेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

देशको उत्तरी क्वेरेतारो प्रदेशमा पर्ने दुर्गम पहाडी क्षेत्रमा हेलिकोप्टर दुर्घटना भएको राष्ट्रपति अन्द्रेस म्यानुयल लोपेज ओब्राडोरले शनिबार जानकारी दिनुभयो ।

एमआई—१७ हेलिकोप्टर छिमेकी सान लुइस पोटोसी प्रदेशको भाल्ले मेर्डेबाट घटनास्थलतर्फ गएको थियो ।

आगो निभाउनका लागि हेलिकोप्टरमा २५ सय लिटर (६६० ग्यालेन) पानी पनि लगिएको एक सैनिकले जानकारी दिएका छन् ।

अति दुर्गम क्षेत्रमा दुर्घटना भएकाले थप र आधिकारिक विवरणहरु आउन बाँकी नै रहेको जनाइएको छ ।

“दुर्घटनाको खबरले हामीलाई स्तब्ध बनाएको छ, घटनामा परी मृत्यु भएकाहरुप्रति श्रद्धान्जलि र आफन्तप्रति सहानुभूति व्यक्त गर्दछौँ,” एक सार्वजनिक समारोहमा राष्ट्रपति ओब्राडोरले भन्नुभयो ।

वर्षा नभएकाले अत्यधिक गर्मी भई पछिल्लो समयमा मध्य मेक्सिकोमा जङ्गली जनावरहरुलाई गाह्रो भएको र आगलागीका घटनाहरु पनि भइरहेको अधिकारीहरुले जनाएका छन् । रासस/एएफपी