वैशाख १७, काठमाडौँ | सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप चार जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार समुदायमा सङ्क्रमण बढेको छैन । ती चारैजना भारतबाट नेपाल आएर क्वारेन्टाइनमा रहेका व्यक्ति हुन् । उहाँका अनुसार सङ्क्रमितमध्ये एकजना अस्पताल र अर्का तीनजना क्वारेन्टाइनमा रहेका छन् । सङ्क्रमित पुरुष ३१, ४३, ४६ र ५० वर्षका रहेका छन् ।
आज थप चारजनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५८ पुगेको छ भने पूर्णरुपमा स्वस्थ भएर १६ जना घर फकिएका छन् । अहिले ३९ जना सङ्क्रमित अस्पतालको आइसोलेशनमा छन् । सङ्क्रमित अन्यलाई अस्पताल लैजाने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । सङ्क्रमितको नजिक रहेका कन्ट्र्याक ट्रेसिङसमेत भइरहेको जनाइएको छ ।

पर्साको जिल्ला अस्पताल पोखरियामा कोरोना भाइरस सङ्क्रमण परीक्षणका लागि स्वाब सङ्कलन बुथ राखिएको छ ।
समाजवादी पार्टीका नेता निजामुद्दिन समानीको पहलमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराका प्रमुख जक्की अहमद अंसारीले सो बुथ उपलब्ध गराएको अस्पतालले जनाएको छ । सुरक्षित रुपमा स्वाब सङ्कलन गर्ने उद्देश्यले सहयोग गरेको सो बुथ कार्यालय प्रमुख अंसारीले मङ्गलबार अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिल यादवलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा नेता समानीले प्रमुख अंसारीले गरेको यो कार्य प्रशंसनीय रहेको उल्लेख गर्दै कोरोना भाइरसको आशंका लागेका बिरामीको स्वाब सङ्कलनका लागि निर्माण गरिएको यो बुथले चिकित्सक एवं स्वास्थ्यकर्मीलाई सङ्क्रमणको जोखिमबाट जोगाउने बताउनुभयो ।
प्रमुख अन्सारीले स्वाब सङ्कलन बुथबाट अस्पतालले कोरोना भाइरस सङ्क्रमणको आशंका गरिएका बिरामीलाई पनि राम्रो सेवा दिन सक्ने बताउनुभयो ।
कार्यक्रममा पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियार, उपप्रमुख सलमा खातुन र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मन साह कानुकोसहभागिता थियो ।