पढ्न करिब 3 मिनेट लाग्छ

साउन १७, काठमाडौं । एमालेले प्रधानमन्त्री निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिने विषयमा अनौपचारिक गृहकार्य थालेको छ । ‘सशक्त प्रतिपक्ष’को भूमिकाका लागि पनि उम्मेदवारी दिनुपर्ने निष्कर्ष उसको छ ।

शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकमा प्रधानमन्त्री निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिने विषयमा अनौपचारिक छलफल भएको थियो । ‘जो भए पनि पार्टीभित्रैबाट उम्मेदवार उठाउनु उपयुक्त हुन्छ भन्ने अनौपचारिक छलफल भएको छ,’ एक पदाधिकारीले भने, ‘यसबारे स्थायी समिति बैठकमा थप छलफल हुनेछ ।’

प्रमुख सचेतक भानुभक्त ढकालले भने उम्मेदवारीको सम्भावना रहे पनि नेताहरूबीच छलफल भइनसकेको दाबी गरे । स्रोतका अनुसार एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले उम्मेदवार बन्न उपाध्यक्ष वामदेव गौतम र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई प्रस्ताव गरेका छन् ।

वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल उपाध्यक्ष गौतमलाई उम्मेदवार बनाउन सकारात्मक छन् । सहयोगी दलसँगको छलफलपछि निर्णय सरकारमा अन्तिमसम्म साथ दिएका राप्रपा नेपाल, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दललगायतसँग छलफल गरेपछि प्रधानमन्त्रीमा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय लिने एमालेको तयारी छ ।

‘नेताहरूले सरकारमा सहयोग गरेका दलसँग पनि छलफल गरेर उम्मेदवारीबारे अन्तिम टुंगो लाग्छ,’ प्रमुख सचेतक भानुभक्त ढकालले भने ।

प्रधानमन्त्री केपी ओलीले आफूले राजीनामा दिएलगत्तै बहुमतीय प्रक्रियामा जानुपरे प्रधानमन्त्रीको उम्मेदवार हुन उपाध्यक्ष वामदेव गौतमलाई प्रस्ताव गरेका थिए । ओलीको प्रस्तावपछि गौतमले विगतमा आफूसँगको सहमतिसमेत कार्यान्वयन गर्दै संसदीय दलको नेता बनाइए उम्मेदवार बन्न तयार रहेको जवाफ दिएका थिए । ‘कार्यबाहक अध्यक्ष बनाउन आनकानी गर्नुभो, संसदीय दलको नेता पनि बनाउनुभएन,’ ओलीसँगको भेटमा गौतमको जवाफ उद्धृत गर्दै स्रोतले भन्यो, ‘पहिले संसदीय दलको नेता बनाउनुस्, त्यसपछि तयार हुन्छु । मलाई दिइएको वचनचाहिँ पूरा नगर्ने अनि हार्ने वेला उम्मेदवार मात्रै बन्ने चाहना छैन ।’ तर, गौतमलाई दलको नेता बनाएर उम्मेदवारी दिन लगाउने पक्षमा ओली छैनन् ।

लामो समय सभामुखको जिम्मेवारीमा रहिसकेका संसदीय दलका उपनेता सुवास नेम्वाङलाई एमालेले प्रधानमन्त्रीको उम्मेदवार बनाउने सम्भावना पनि छ । ओलीनिकट अधिकांश नेता नेम्वाङलाई नै उम्मेदवार बनाउनुपर्ने पक्षमा छन् । ओलीले पनि आफूनिकटसँग नेम्वाङ उपयुक्त पात्र हुनसक्ने बताएको स्रोतको भनाइ छ । ‘उम्मेदवारीका विषयमा पार्टीमा कुनै छलफल भएको छैन । त्यसैले को उम्मेदवार बन्ने भन्ने मलाई जानकारी छैन, अहिले नै भन्दा अलि ‘प्रि–मेच्युअर्ड’ हुन्छ भन्ने लाग्छ,’ नेम्वाङले भने ।

पार्टीबाहिरबाट सिपी मैनाली

प्रधानमन्त्री केपी ओलीले नेकपा मालेका महासचिव सिपी मैनालीलाई विपक्षी गठबन्धनबाट उम्मेदवार बनाउन पनि सक्छन् । गौतम या नेम्वाङलाई उम्मेदवार बनाउँदा पार्टीको आन्तरिक समीकरणमा असर पर्ने भएकाले ओलीले यो विकल्प रोज्ने सम्भावना बलियो रहेको स्रोतको दाबी छ । तर, मैनालीले एमालेबाट कुनै प्रस्ताव नआएको बताए । ‘मैले पनि सुनेको मात्रै छु, प्रधानमन्त्रीसँग भेट हुँदा पनि उम्मेदवार बन्नुस् भनेर कुनै प्रस्ताव गर्नुभएको छैन,’ उनले भने । - नयाँ पत्रिका