Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कोरोना अनुभव : यस्तो पो सरकारी अस्पताल ! स्वास्थ्यकर्मी हुनु त …

By साझासवाल 19 मिनेट पढाइ

पढ्न करिब 8 मिनेट लाग्छ
प्रकाशित:

विष्णु नेपाल । मङ्सिर १४, काठमाडौँ । चिटचिट पसिनाले गञ्जी चिसो भयो । रिँगटा चल्न थाल्यो । मैले यतिविघ्न टाउको दुखेको जीवनमा कहिल्यै अनुभव गरेको थिइन । ज्वरोको तापक्रम १०० डिग्रीभन्दा माथि नै थियो ।

उठ्न कोशिस गरेँ । खुट्टा टेकिएनन् । छिप्पिँदो रातले बिहानीको प्रतीक्षा गर्दै थियो । कसलाई के भनौँ ? लाग्यो जीवन यति नै रहेछ कि ! श्वासप्रश्वासमा अप्ठ्यारो छँदै थियो । कोठा उज्यालो थियो । आशाका किरण धपक्क निभे । आँखा घुमे, जता हेर्यो, सर्वत्र अन्धकार । साहस  हराउँदै थियो ।

कोठाको अर्काे कुनामा रहेकी जीवनसङ्गिनी निदाउने प्रयासमा थिइन् । उनी स्वयं कोभिडसँग जुध्दै थिइन् । परिवारजन, इष्टमित्र, साथी तथा छरछिमेकी सम्झेँ । भरैभरमा टिकेको जीवनजगत् न समाउने ठाउँ, न अडिने स्थान देखेँ । आधार सकिएको जस्तो लाग्यो । कतिपयका फोनको जवाफ पाएर लाग्यो, आफन्त र साथीसङ्गी भनेका त सुखका लागिरहेछन् कि ! दुईदशक भन्दाबढी कस्तो पत्रकारितामा बिताएछु ? भन्ने प्रश्नले मलाई गिज्याइरह्यो । पछिल्ला दशकमा स्वास्थ्य पत्रकारितामा रमाउँदा पाएका सफलता क्षणिक लाग्यो ।

अन्तिम विकल्प चिकित्सकलाई सम्झेँ । फोनमा पहिलो चिनजान र कुराकानी गरेका चिकित्सकलाई मध्यरातमा फोन लगाएँ । दुई घण्टीमा नै उहाँले फोन उठाइदिनुभयो । सुन्दर जीवन सकिएको रहेनछ । आशा पलायो । सबैका मन कहाँ उस्तै हुँदोरहेछ र ! स्वार्थको भीडमा मानवता  सजिलै कहाँ हराउँदो रहेछ र ?

“शरीर कमजोर पार्न सक्छ । अक्सिजन लेबल झरेको हुन सक्छ । झ्याल बन्द छन् भने खुला गरिदिनुुस् । घोप्टो परेर सुत्नु होला । झोलिलो खानेकुरा जति सकिन्छ खानुहोला । आफूलाई सम्हाल्ने प्रयास नछाड्नुहोला । नआत्तिनुहोला । श्वासप्रश्वासमा अप्ठ्यारो हुँदै गयो भने म छु, तुरुन्त केही व्यवस्था गरौँला । सिटामोल खाइहाल्नुहोस्”, डा प्रवीन नेपालले फोनमा सुझाउँदै जानुभयो । यसैलाई पालना गरेँ । रातले बिहानीको सङ्केत गर्दै थियो । पीडा कम हुँदै गयो । घोप्टो परेर सुत्दा अक्सिनको मात्रा बढ्ने रहेछ ।  सूर्योदयसँगै नयाँ जीवनको शुरुआत भएकोे महसुस गरेँ ।  कोरोना मसँग अवश्य पराजित हुन्छ र गर्छु भन्ने दृढता उर्लेर आयो । ‘चिकित्सक भगवान् हुन्’ भन्ने कुरा यसै भनिएको रहेनछ । स्वास्थ्यकर्मीको मीठो बोली, सहज उपलब्धता, सरल व्यवहारले सङ्क्रमितको मनोबल उच्च हँुदोरहेछ । यही कुरा सङ्क्रमितले स्वास्थ्यकर्मीबाट अपेक्षा गरिराखेका हुन्छन् । यसले कोरोनालाई परास्त गर्न सामथ्र्य प्राप्त हुँदोरहेछ । मेरो अनुभव यही रह्यो ।   हँसिलो अनुहार र मिठास बोलीका धनी डा नेपालसहित एपिएफ अस्पताल बलम्बुमा कार्यरत युवा चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीका टोलीले कोरोना सङ्क्रमितका उपचारमा समर्पण गर्नुभएको सेवा र प्रतिबद्धता अन्य स्वास्थ्यकर्मीलाई उदाहरणीय बन्नसक्छ । उहाँहरुको सेवाभाव, बोली र व्यवहारले पछिल्लो समय अस्पतालको नाम र प्रतिष्ठालाई उँचो बनाएको छ ।

‘आफ्नो श्यया बिरामीलाई छाडेर घर रोजे’

गत चैतदेखि अस्पताल व्यवस्थापनले कोभिड र अन्य बिरामीलाई सहज उपचार सेवाका लागि अलगअलग नयाँ मार्गदर्शन लागू गरेको थियो । यसले अस्पतालको सेवा अझ छिटोछरितो र चुस्त पारेको छ । अस्पतालले भर्ना भएका कोरोनाका बिरामीलाई आवश्यक सबै सन्तुष्टि दियो र दिँदैछ । बिरामीले निजी अस्पतालमा जस्तो दैनिक हजारौँ खर्च गर्दा नपाइने चिकित्सकीय सेवा, खानपान तथा अन्य बन्दोबस्ती निःशुल्क पाएँ । अस्पतालबाट कोरोनालाई जितेर घर फर्किनेहरु भन्छन्, “अस्पताल हुनु त यस्तो पो । पुनर्जन्म लियौँ । धन्य ! एपिएफका स्वास्थ्यकर्मी र व्यवस्थापक । चाहे के गर्न नसकिँदो रहेछ र ? उपचार सेवा, स्वास्थ्यकर्मीका बोली व्यवहार, खानपान र भौतिक बन्दोबस्ती व्यवस्थामा अभाव छैन ।” हालै १० दिन अस्पतालमा भर्ना भई ज्वरो निको हुनुभएका धादिङ सिद्धलेक गाउँपालिका– ७ का राममणि खतिवडाले भन्नुभयो, “सरकारी अस्पताल हुन त एपिएफ जस्तो ।  स्वास्थ्यकर्मीका सेवा , मीठो बोलिवचन, सरसफाइ र खाना राम्रो लाग्यो । बिरामीलाई उपचार त छँदैछ, स्वास्थ्यकर्मी र व्यवस्थापकले बिरामीको पीडालाई राम्ररी बुझ्ने गर्नुहुँदोरहेछ ।”

उपचार सेवा त उत्कृष्ट छँदैछ । स्वास्थ्यकर्मीले गर्ने व्यवहार, खानपान र सरसफाइ असाध्यै राम्रो रहेको कोरोनालाई जितेर घर फर्किएकाले राससलाई प्रतिक्रिया दिएका छन् । अस्पतालमा कोभिड–१९ को स्थानीय स्रोत व्यक्तिसमेत रहनुभएका वरिष्ठ शल्यचिकित्सक नेपालले विजयादशमी मनाउन पाउनुभएन । उहाँ कोरोना सङ्क्रमित हुुनुभयो । “आफू सङ्क्रमित हुँदा मलाई सङ्क्रमितका पीडासँग अझ नजिक पुर्यायो । घरमै आइसोलेशनमा बस्दा सामाजिक सञ्जाल र टेलिफोनमार्फत बिरामीलाई दिनरात नभनी चिकित्सकीय ज्ञान र औषधि भनिदिएँ”, उहाँले भन्नुभयो, “तपाईलाई सल्लाह दिएको रात म पनि आइसोलेशनमै थिए । पोजेटिभ देखिएको दुई÷तीन दिन मात्र बितेको थियो । केही अप्ठ्यारो मलाई थियो । सहकर्मी चिकित्सकले अस्पतालमा बस्न आग्रह गरेका थिए । आफूभन्दा जटिल बिरामी अस्पतालमा भर्ना भएका थिए । आफ्नो श्यया बिरामीलाई छाडेर आइसोलेशन बस्न घर रोजँे ।”

उहाँले कोरोना उपचार र अस्पतालको समग्र व्यवस्थापनमा तल्लीन हुँदाहुँदै सङ्क्रमणसित जुध्नुप¥यो । ठट्टा गरी हाँस्दै भन्नुभयो, “कोभिडमा काम गर्नेले कोभिड हुनुपर्दाेरहेछ । यसबाट समग्र व्यवस्थापनमा छिटो सुधार गर्न थप बल मिल्ने रहेछ ।”

विसं २०६२ मा स्थापित अस्पतालले पछिल्लो समय आफ्ना चिकित्सक, नर्स, प्रयोगशालाकर्मी, प्यारामेडिक्स, सरसफाइ र अन्यकर्मचारीलगायत ४४८ जनशक्तिलाई तालिम प्रदानगरी कोभिडमा केन्द्रित गराएको छ । अस्पतालमा कार्यरत डा आशीष थापाले भन्नुभयो, “शुरुआती दिनमा कोरोना उपचारसित सम्बन्धि मार्गनिर्देशन तथा उपकरणको कसरी व्यवस्थापन गर्न चिन्ता भयो । सरकार र अस्पताल व्यवस्थापनका उच्च नेतृत्वबाट द्रुत काम भयो । हामी चिकित्सकलाई पनि सामान्य डर र त्रास त छँदै थियो । कोरोना सङ्क्रमित भइन्छ कि भन्ने भय हुन्थ्यो । केही भयका बीचमा बिरामी परीक्षण गर्न लाग्यौँ । विस्तारै बानी पर्दै गयो । अहिले कोरोना बिरामीको उपचारमा समस्या छैन ।” अस्पतालबाट कोरोना जितेर घर फर्किन लाग्दा बिरामीले व्यक्त गरेका खुशी नै सम्पत्ति हो, यहीमा आनन्द आउँदो रहेछ र बिरामीलाई निको बनाउनु नै चिकित्सकको सफलता हो उहाँ भन्नुहुन्छ ।

सरकारको निर्णयअनुसार एपिएफ अस्पतालले महामारीलाई ध्यान दिँदै १२० श्ययाको आइसोलेशन वार्ड, २० श्ययाको सघन आइसियु र आठ भेन्टिलेटर सञ्चालनमा ल्याएको छ ।  नेगेटिभ प्रेसर ज्याब्बर भएको सो सो आइसियु र भेन्टिलेटर विश्वकै उत्कृष्टमध्येमा पर्दछ । विश्व स्वास्थ्य सङ्गठनले कोरोना उपचारका लागि जारी गरेका कोभिड–१९ मार्गदर्शनलाई अस्पतालले अक्षरशः कार्यान्वयनमा उतारेको छ । मन्त्रिपरिषद्को गत चैत ९ गतेको बैठकले अस्पताललाई कोभिड–१९ को पहिचान, रोकथाम, नियन्त्रण तथा उपचार एकीकृतरुपमा गर्न ‘डेडिकेटेड’ अस्पतालका रुपमा तोक्ने निर्णय गरेको थियो ।

गत वैशाख ३१ गते पहिलो कोरोना सङ्क्रमित सो अस्पतालमा भर्ना भएका थिए । अस्पतालका वरिष्ठ हाडजोर्नी समेत रहनुभएका फोकल पर्सन डा नेपालका अनुसार ती बिरामी १६ दिनमा अस्पतालबाट घर फर्किएका थिए । हालसम्म कोरोनाका सामान्य लक्षण, शङ्कास्पद तथा श्वासप्रश्वासका गम्भीर समस्या भएका एक हजार ९२० बिरामीलाई अस्पतालले सेवा दिइसकेको छ । तीमध्ये अस्पतालमा हालसम्म भर्ना भई घर फर्किने बिरामीको सङ्ख्या एक हजार ७६७ पुगिसकेको जनाइएको छ । यसैगरी अस्पतालले हालसम्म १४ हजार २९४ जनाको स्वाब सङ्कलन गरी  पिसिआर परीक्षण गरेको जनाएको छ ।

अस्पतालले  हाताभित्र रहेका तीन भवनलाई आइसोलेशन कोभिड वार्डमा रुपान्तरण गरेको छ । फरकफरक विधाका ६२ जना युुवा चिकित्सक कार्यरत अस्पतालमा सघन उपचार कक्ष, प्रयोगशाला, रेडियोलोजी र फार्मेसी सेवाको समन्वकारी भूमिकाले अस्पतालको सेवालाई अझ प्रभावकारी बनाएको छ । अर्बुदरोग, मधुमेह, मुटुरोग जस्ता दीर्घ रोग पनि भएका कोरोना सङ्क्रमितलाई अस्पतालले निको बनाई घर पठाइदिएको छ । अस्पतालमा कार्यरत डा रोशन पराजुलीले भन्नुभयो, “१५ दिनको नवजात शिशु, ९२ वर्षीय वृद्ध, गर्भवती तथा सुत्केरीको सफल उपचार गरेका छौँ ।”

उहाँका अनुसार कोरोना उपचारको अतिरिक्त अस्पतालले छुट्टै भवनबाट आफ्ना हिताधिकारीलाई नियमित सेवा जारी राखेको छ । यसका लागि अस्पतालले जनशक्तिलाई आलोेपालो कार्यतालिकासमेत बनाएको छ ।

एपिएफ अस्पताल रिफर सेन्टर

कोरोना उपचारमा प्राप्त गरेको सफलतासँगै अस्पतालमा सरकारी तथा निजी अस्पतालबाट  रिफर गर्ने बिरामीको सङ्ख्या बढी र एपिएफबाट अन्य अस्पतालमा स्थानान्तरण गर्ने बिरामी कम छ । “यो हाम्रा लागि चुनौती र अवसर दुवै हो”, वरिष्ट सर्जन समेत रहनुभएका डा नेपालले भन्नुभयो । उहाँका अनुसार काठमाडौँ उपत्यकाभित्रका ठूला सरकारी र केन्द्रीय अस्पताल तथा विभिन्न निजी क्षेत्रका अस्पताल र मेडिकल कलेजले ७० बिरामीलाई एपिएफमा रिफर गरेका थिए । रिफर गरेका सरकारी तथा निजी क्षेत्रका अस्पतालमा पनि कोभिडका बिरामीको उपचार हुने गर्छ । स्वास्थ्य मन्त्रालयको समन्वय, सम्बन्धित स्वास्थ्य संस्थाको अनुरोध र बिरामीका इच्छाले  एपिएफ अस्पतालले १३ कोरोना सङ्क्रमितलाई अन्य अस्पतालमा स्थानान्तरण गरेको थियो ।

अस्पतालले पहिलोपटक गत असोज २ गते हेमोडायलिस उपचार सेवा पनि शुरुआत गरेको छ । कोभिडका गम्भीर बिरामीका लागि सो सेवा अति महत्वपूर्ण मानिन्छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँगको समन्वयमा प्लाज्मा थेरापी तथा रेम्डीसिभिर औषधि जस्ता पछिल्लो आधुनिक उपचार सेवा कार्यान्वयनमा ल्याएको छ । हालसम्म ४४ जनाको प्लाज्मा थेरापीमार्फत उपचार भइसकेको जनाइएको छ ।

अस्पतालमा कम मृत्यु

अस्पतालका अनुसार कोरोनाबाट अस्पतालमा हालसम्म ४२ जनाको मात्र मृत्यु भएको छ । अन्य कोभिड अस्पतालको तुलनामा यो मृत्यु सङ्ख्या कम रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  फोकल पर्सन डा नेपालका अनुसार मृत्यु हुनेमा लगभग ७० प्रतिशत दीर्घरोगी छन् ।

“अस्पतालमा आएका बिरामीको मृत्यु नहोस् भन्ने हाम्रो पहिलो उद्देश्य हो, यसैमा हाम्रो सम्पूर्ण जनशक्ति केन्द्रित छ । गम्भीर अवस्थामा अस्पताल आएका कारण मृत्यु बढी देखिएको हो । अन्य अस्पतालका तुलनामा मृत्यु सङ्ख्या कम रहेको छ । कतिपय त एम्बुलेन्समा नै मृत्यु भएर पनि अस्पताल आइपुग्दछन्”, उहाँले भन्नुभयो । रासस