पढ्न करिब 2 मिनेट लाग्छ

मंसिर २६, काठमाडौँ | एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ | पछिल्लो एक वर्षमा विगतका वर्षदेखि बाँकी रहेको सबै अनुमतिपत्र छापिसकेर पठाएको कार्यालयले जनाएछ |

कार्यालयमा दुई-तीन महिना पहिले छापिएकादेखि दुई-तीन वर्ष पहिले छापिएर आएको अनुमतिपत्र लिन सेवाग्राही आउन बाँकी रहेको कार्यालय प्रमुख सम्बरबहादुर कार्कीले बताए | विभागले गत वर्ष ठूलो क्षमताको छपाइयन्त्र (मास प्रिन्टर) खरिद गरेर सञ्चालनमा ल्याएसँगै यहाँका छाप्न बाँकी धेरै अनुमतिपत्र छापिएर आएको थियो।

तिहारपछि कार्यालयमा अनुमतिपत्र लिन आउने सेवाग्राहीको सङ्ख्या कम भएको कार्यालयले जनाएको छ। प्रमुख कार्कीका अनुसार गत वर्ष चैतमा बन्दाबन्दी भएसँगै बन्द कार्यालय असारमा खुलेपछि कार्यालयमा सेवाग्राहीको धेरै चाप रहेको थियो।

त्यतिबेला धेरै कार्यालय बन्द भएकाले फुर्सदका कारण पनि सेवाग्राही धेरै आएको हुनसक्ने उनको भनाइ छ | उनले भने, 'अहिले धेरै कार्यालय खुलेकाले पनि हुनसक्छ सेवाग्राही कम भएका छन्।'

कार्यालयले नवीकरणका लागि आएका सेवाग्राहीको झण्डै १५ हजार अनुमतिपत्र मात्रै विभागबाट छापिएर आउन बाँकी छ। कार्यालयले नयाँ चालक अनुमतिपत्र नखुलाएर अनुमतिपत्र नवीकरण र वितरणको काम गरिरहेको छ।

विभागले अनुमतिपत्रका लागि आवेदन लिइने भने पनि अझैसम्म वाग्मती प्रदेश सरकारले नयाँ अनुमतिपत्र खुलाउने निर्णय गरेको छैन। अनुमतिपत्र नवीकरणका लागि दैनिक तीन/चार सय सेवाग्राही आइरहेका छन्।

यो सङ्ख्या पछिल्लो एक डेढ महिनाको मात्रै भएको उहाँले बताए। विभागले कार्यालयले पठाएको अनुमतिपत्र झण्डै दुई महिनामा छापेर पठाइरहेको छ | (रासस)