पढ्न करिब 2 मिनेट लाग्छ

पुस २, टोकियो (रासस/सिन्ह्वा) । जापानको राजधानी टोकियोमा कोरोनाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् ।

टोकियोको महानगर प्रशासनले बिहीबार एकैदिन ८२२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको जनाएको छ ।

सङ्क्रमितको सङ्ख्या अत्यधिक बढ्दै गएपछि स्वास्थ्य सेवा समेत अपर्याप्त भएको अधिकारीहरुले जनाएका छन् ।

टोकियोमा यसअघि गत बुधबार एकैदिनमा ६७८ जना सङ्क्रमित भएका थिए ।

सङ्क्रमितहरुको सङ्ख्या दिनप्रति दिन बढ्दै गएपछि सर्वत्र चासो र चिन्ता पनि बढेको छ ।

टोकियोका गभर्नर युरिको कोइकेले जनताको जीवन जोगाउनका लागि आफुहरु सवै प्रकारका सतर्कता र प्रयासहरु गर्न लागिरहेको पत्रकारहरुलाई जानकारी दिनुभयो ।

एक करोड ४० लाख जनसङ्ख्या भएको राजधानीमा कोरोनाबाट सङ्क्रमितहरुको प्रभाबकारी उपचार सेवाका लागि थप सामान्य शैयाहरूको स्थापना गरी सेवा दिन अस्पतालहरूलाई निर्देशन दिइएको उहाँले बताउनुभयो ।

सरकारी अधिकारीहरूले राजधानी टोकियोको अवस्था प्रतिदिन नराम्रो हुँदै गइरहेको बताएका छन् ।

टोकियोमा कोरोना सङ्क्रमितका लागि मात्रै भनेर तीन हजार शैया छुट्याइएकोमा त्यसको ७० प्रतिशत शैया गत हप्ता नै प्रयोग भइसकेको थियो । अरु एक हजार शैया थप्ने तयारी भइरहेको अधिकारीहरुले जनाएका छन् ।

टोकियोमा बिहीबार बेलुकासम्म ४९ हजार ४९० जना सङ्क्रमित भएका छन् । सङ्क्रमितहरुको सङ्ख्या देशभरी नै बढिरहेको छ । देशभरी बिहीबार एकैदिन तीन हजार २११ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

जापानमा अहिलेसम्म कुल एक लाख ९० हजार ९३५ जना सङ्क्रमित भएका छन् भने कोरोना लागेपछि मृत्यु भएकाहरुको सङ्ख्या दुई हजार ८०४ रहेको छ ।

एसियाली विकसित मुलुक जापानमा अहिले कोरोनाभाइरसको महामारीको तेस्रो चरण आएको हो ।