पढ्न करिब 5 मिनेट लाग्छ

माघ २५, बझाङ । बचत गर्न भनेर बाठपाला प्राथमिक विद्यालय तलकोटमा अध्ययनरत छोरीले १० रुपैयाँ माग्दा बुबा महाविरे सार्कीलाई अनौंठो लागेको थियो । दश रुपैयाँ बचत गरेर के होला र ? भन्ने सोचेका उनले छोरीको ढिपी पूरा गर्न दिएको सो पैसा आपतमा काम लागेको छ ।

करिश्मा जस्तै सो विद्यालयमा अध्ययनरत ११० छात्र÷छात्राले गरेको बचत अहिले कोभिड– १९ का विपतमा सुरक्षित तरिकाले विद्यालय सञ्चालन गर्न काम लागेको छ । गाउँपालिकामा अन्य विद्यालय बन्द रहेका बेला पनि सञ्चालनमा रहेको सो विद्यालयमा पढ्ने विद्यार्थीलाई कोरोनाको डर छैन ।

बालबालिकाले स्थापना गरेका बालकोषमा जम्मा रकमले कोभिड सुरक्षाको लागि आवश्यक मास्क, स्यानिटाइजरलगायत कोभिड सुरक्षा सामग्री किनेर विद्यालय निर्बाध सञ्चालन भएको छ । कोराना महामारीका कारण गतचैतदेखि बन्द भएका तलकोट गाउँपालिकाका विद्यालय गतअसोजमा खुले । विद्यालय खुले पनि कोरोनाको जोखिम कायमै थियो । यद्यपि विद्यार्थीसँग डराइडराइ स्कुल जानुको विकल्प थिएन । कतिपय विद्यालय महामारीको डरका कारण अझै राम्रोसँग सञ्चालन हुनसकेका छैनन् ।

सो प्राविमा पनि शुरुका केही दिन यस्तै समस्या भयो । कक्षा ५ मा अध्ययनरत बाल क्लबका अध्यक्ष राकेश सार्कीले भन्नुभयो “चार पास भएर ५ कक्षामा गएकोमा मनमा खुशी त थियो । कोराना लागेर मान्छे मरिरहेको खबर रेडियोमा सुन्दा स्कुल जान डर पनि लाग्थ्यो ।” उहाँले कोरोनाका डरले धेरै विद्यार्थी विद्यालय आउन छोडेपछि शिक्षक र बालक्लबले सल्लाह गरेर कोषको रकमबाट कोभिड सुरक्षा सामग्री किन्ने निर्णय गरेको बताउनुभयो ।

कोषमा जम्मा भएको करिव ११ हजारले विद्यार्थीलाई ६ महिनासम्म पुग्ने गरी मास्क, स्यानिटाइजर खरीद गरियो । प्रत्येक विद्यार्थीले मास्क लगाउन थाले र जोखिमपूर्ण अवस्थामा स्यानिटाइजर प्रयोग गर्न थालेपछि सबै जना ढुक्क भएर स्कुल जान थालेको कक्षा ५ मा अध्ययनरत छात्रा बन्दना सिंहले बताउनुभयो । उहाँले भन्नुभयो “बालक्लबले मास्क र स्यानिटाइजर दिएपछि स्कुल नआउने पनि ढुक्क भएर स्कुल आउन थाले । अहिले हामीलाई कुनै डर छैन ।”

अहिले विद्यार्थीमा सरसफाइ गर्ने बानीको विकास हुनुको साथै विद्यालय आउदा माक्स लगाएर आउने र विद्यालयमा स्यानिटाइजर लगाई कक्षा कोठाभित्र जाने गरेको उहाँले बताउनुभयो । २०७५ साल वैशाखबाट यहाँका विद्यार्थीले बालकोषको रुपमा मासिक १० रुपैयाँ जम्मा गर्न थालेका थिए । गैरसरकारी संस्था एकीकृत विकास समाज नेपाल (आइडिएस) को सहजीकरणमा बालक्लब गठन गरेर कोषको शुरुआत भएको थियो । कोषमा जम्मा भएको रकमले बालबालिकालाई विद्यालयमा आउने ससाना समस्याको समाधान गर्न सहयोग गर्ने उद्देश्य राखिएको थियो ।

बाल क्लबमा आवद्ध विद्यार्थीलाई सरसफाइसम्बन्धि सचेतना जगाएर उनीहरुमार्फत समुदायमा सरसफाइ अभियान चलाउनका लागि यस्तो गरिएको थियो । अभिभावक महाविरे सार्कीले भन्नुभयो, “१० रुपैयाँले के गर्ने होलान भन्ने ठानेको थिएँ । अहिले त्यही रकम आपत्मा काम लागेको छ । सबै भन्दा ठूलो कुरा हामीले सरसफाइ गर भनेर सिकाउनुपर्ने बच्चा उल्टै हामीलाई सरसफाइ गर्न सिकाउछन् । बच्चाहरुमा आएको परिर्वतन देखेर खुशी लागेको छ ।”

संस्थाले यहाँका शिक्षक तथा बालक्लबमा आवद्ध विद्यार्थीलाई सरसफाइसम्वन्धि नियमित सचेतना कार्यक्रमपछि समुदाय सरसफाइमा पनि राम्रो प्रभाव परेको छ । महिनामा एक पटक आइडिएसले सरसफाइ सचेतना कार्यक्रम गर्ने गरेको छ । यसले विद्यार्थीको बानीमा धेरै परिर्वतन भएको छ । विद्यालयका प्रधानाध्यापक वसन्त विकले भन्नुभयो,“केटाकेटीले स्कुलमा मात्रै होइन, आफ्नो घरमा पनि सरसफाइका कुरा सिकाउन थालेका छन् पहिला फोहर हुने बच्चा पनि अहिले चिटिक्क परेर स्कुल आउन थालेका छन ।”

बालक्लबमा आवद्ध भइसकेपछि विद्यार्थीको नेतृत्व विकाससमेत भएको छ । उनीहरु विभिन्न अतिरिक्त क्रियाकलाप गरेर क्षमता विकास गर्ने गरेका छन । प्रत्येक शुक्रबार क्लबले हाजिर जवाफ, वक्तृत्वकला र अन्य खेलकूदका कार्यक्रम आयोजना गर्ने गरेको छ । गाउँमासमेत विद्यार्थीले कोभिड– १९ बाट बच्ने उपाय र सरसफाइको बारेमा कुरा गर्ने गरेका छन् । उनीहरु शिक्षक अभिभावको साथ लिएर विद्यालयलाई पूर्ण सरसफाइयुक्त विद्यालय बनाउने र बालकोषबाट प्रत्येक कक्षाकोठामा डस्बीनको व्यवस्था गर्ने अन्य सरसफाइ सामग्री खरीद गर्ने योजनामा रहेको क्लबका अध्यक्ष सार्कीले जानकारी दिनुभयो ।

विद्यार्थीको आफ्नै पहलमा भएको काम पालिकाभरिमै नमूनाको रुपमा रहेको र अरु विद्यालयले पनि यस्तै अभ्यास गर्न थालेको तलकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सिद्धराज भण्डारीको भनाइ छ । शिक्षक, अभिभावक र विद्यार्थीले चाहेमा नहुने भन्ने केही रहेनछ । सानातिना कामको लागि पनि पालिकाकै मुख ताक्नेलाई वाठपाला प्राविले गतिलो जवाफ दिएको छ । उहाँले गाउँपालिकाले यो कामलाई अन्य विद्यालयमा पनि लागू गर्ने र सबै विद्यालयमा बालक्लब गठन गर्ने तयारी गरेको बताउनुभयो ।

वातावरणमा सुधार लागि कानून निर्माणमा

मानवीय गतिविधिका कारण बिग्रदै गएको वातावरणमा सुधार गर्नको लागि बझाङ्का स्थानीय तह कानून निर्माणमा जुटेका छन् । अव्यवस्थित विकास निर्माण, शहरीकरण, मानवीय क्रियाकलापका कारण जल, जमीन, जङ्गललगायत वातावरणमा प्रतिकूल प्रभाव पर्न थालेको जनाउँदै त्यस्ता गतिविधिलाई नियमन गर्न कानूनको तर्जुमा गर्न लागेका हुन ।

बाढीपहिरो, पानीका स्रोतको प्रदूषण, जङ्गलको विनाश र जैविकविविधतामा ह्रास आइरहेकाले पालिकाका जनप्रतिनिधि सर्वसाधारणले पनि यसको महत्व नबुझेका कारण अहिले समस्या भोग्नुका साथै विपत्लाई सामना गर्नु परिरहेको तलकोट गाउँपालिकाका अध्यक्ष लालबहादुर विष्टले बताउनुभयो ।

जिल्लाको जयपृथ्बी नगरपालिका, तलकोट, छविसपाथीभेरा, थलारा र केदारस्युँ गाउँपालिकाका जनप्रतिनिधि अन्य सरोकारवाला निकायसँग परामर्श गरेर वातावरण संरक्षण ऐन र नियमावली बनाउन लागेका छन् । विस्तारै अरु पालिकालाई पनि यसको अनुशरण गर्न अनुरोध गर्ने र वातावरण संरक्षणको प्रयास एक पालिकाले मात्रै गरेर नहुने भएकोले अरु स्थानीय सरकारसँग मिलेर यो काम गरिएको जयपृथ्बी नगरापालिकाकी उपप्रमुख जुना जाग्रीले जानकारी दिनुभयो ।

जल तथा ऊर्जा आयोगका सहसचिव कलानिधि पौडेलले वातावरण संरक्षणसम्बन्धी कानून निर्माणमा बझाङ्का स्थानीय तहले लिएको सक्रियता प्रशंसनीय रहेको बताउनुभयो । नागरिक समाजका अध्यक्ष धर्मजङ्ङबहादुर सिंहले विगतमा स्थानीय तहले जथाभावी डोजर प्रयोग गरेर सडक कटान गर्ने र त्यसको असर खोलानाला, वनजङ्गल, वातावरण र खेतीयोग्य जमीनमा परेको छ भन्नुभयो । रासस