२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कान्ति अस्पतालमा आज भेटिए थप पाँच सङ्क्रमित

२०७८, २२ बैशाख बुधबार ०९:२३

सञ्चिता घिमिरे । वैशाख २२, काठमाडौँ (रासस)। आज कान्ति बाल अस्पतालमा एकै दिन पाँचजना बालबालिकामा सङ्क्रमण पुष्टि भएको छ । आज पत्ता लागेकासँगै नयाँ भेरियन्टसहित कोभिड–१९ का बिरामीको सङ्ख्या १० पुगेको अस्पतालले जनाएको छ । 

गत वर्षभन्दा यो वर्ष सङ्क्रमण फैलिने दर उच्च भएकाले सङ्क्रमित थपिरहेको अस्पतालले जनाएको छ । एक सातायता दिनमा एकदुईजना देखिएकामा आज एकै दिन बढी सङ्ख्या देखिएको अस्पतालका प्रवक्ता डा कृष्णप्रसाद विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्क्रमण सबैतिर बढिरहेमा यहाँ पनि बढ्न सक्छ ।” 

कोभिडकै उपचारका लागि तोकिएको अस्पताल नभएकाले अरू स्वास्थ्य समस्या लिएर आएका बिरामीको परीक्षण गर्दा कोभिड पाइएको अस्पतालले जनाएको छ । रुघा, खोकी, ज्वरो, निमोनिया भएर आएका ती बालबालिकामा परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा विष्टले बताउनुभयो । 

अस्पतालले कुनै पनि बालबालिका अस्पताल छिर्नासाथ ज्वरो हेर्न ‘फिबर क्लिनिक’ को व्यवस्था गरेको छ । कोभिडसँग मिल्दो लक्षण भएका शङ्कास्पद बिरामीलाई छुट्टै वार्डमा राखिने गरिएको प्रवक्ता डा विष्टले बताउनुभयो । बालबालिकाको रिपोर्ट पोजेटिभ भएमा कोभिडका लागि छुट्याइएको श्ययामा उपचार गरिन्छ । सङ्क्रमित नभएको पाइएमा अरू सामान्य श्ययामा उपचार गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि अस्पतालमा कोभिडभन्दा अरू बिरामी धेरै छन् ।” 

अस्पतालले नियमित सेवालाई निरन्तरता दिइरहेको भए पनि सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञा घोषणा गरेपछि बिरामीको सङ्ख्या ह्वात्तै घटेको अस्पतालले जनाएको छ । सामान्य अवस्थामा बहिरङ्ग सेवा, आकस्मिक सेवा गरेर दैनिक सातदेखि आठ सयसम्म बिरामी आउने गरेका थिए । अहिले दैनिक झण्डै एक सयदेखि डेढ सयसम्म छ । उहाँले भन्नुभयो, “यातायातको साधन नभएकाले पनि आउन नसकेको हुनसक्छ ।” 

अस्पतालले दुई भेन्टिलेटर र चार आइसियुसहित २६ श्यया कोभिड सङ्क्रमित बालबालिकाका लागि छुट्याइएको छ । यी सबै श्ययामा अक्सिजनको व्यवस्था  छ । सङ्क्रमितको सङ्ख्या बढेर आवश्यक भएमा थप श्ययाको व्यवस्था गर्न सकिने उहाँले बताउनुभयो ।  

अस्पतालले शल्यक्रिया गर्नुपर्ने बिरामीलाई पहिले कोभिड परीक्षण गर्दै आएको छ । परीक्षण गर्दा नेगेटिभ भएमा तुरुन्त शल्यक्रिया गरिने र पोजेटिभ भएका बिरामी, जसलाई केही दिन ढिलाइ गर्दा स्वास्थ्यमा असर गर्दैन भने तत्काल नगरिने उहाँले बताउनुभयो । तत्काल नै शल्यक्रिया आवश्यक भएका सङ्क्रमितलाई चिकित्सकले पिपिई लगाएर शल्यक्रिया गर्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले अघिल्लो वर्ष पनि त्यसरी नै सङ्क्रमित बालबालिकालाई शल्यक्रिया गरेका थियौँ ।” 

देशभर जम्मा सङ्क्रमित बढेपछि त्यसमा बालबालिकाको सङ्ख्या पनि बढेको छ । सरकारी तथ्याङ्कमा जम्मा सङ्क्रमितमध्ये बालबालिका सङ्ख्या एकदेखि दुई प्रतिशत बढेको उल्लेख छ ।  अहिलेसम्म अस्पताल आएकामा जटिल समस्या भएका बालबालिका नभएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अरू उमेर समूहजस्तै बालबालिका पनि धेरै ‘होम आइसोलेशन’ मा रहेको हुनसक्ने देखिएको छ । 

गत वषजस्तै बालबालिकामा सङ्क्रमण हुँदा रुघाखोकी, पखाला, जीउ दुख्नेलगायत लक्षण बढी मात्रामा देखिरहेको छ । बालबालिकामा समस्या आएमा अस्पताल लगे पनि सामान्य अवस्थामा घरमा नै राखेर हेरचाह गर्न सकिने प्रवक्ता डा विष्टको सुझाव छ । 

अहिले विद्यालय बन्द भएकाले धेरै बालबालिका घरमै छन् । उनीहरुलाई अरूभन्दा आफ्नै अभिभावकबाट सङ्क्रमण सर्ने सम्भावना बढी छ । बालबालिकालाई कोभिडबाट बचाउन अभिभावक आफैँ सुरक्षित हुनुपर्ने डा विष्टको सुझाव छ । आफू विवाह, व्रतबन्धलगायत भीडभाडमा नजाने र कतै अत्यावश्यक कामका लागि हिँड्नुपर्दा सुरक्षाको मापदण्ड अपनाउनुपर्छ । बालबालिकालाई यो समयमा पनि नियमित लगाउने खोप लगाउनुपर्ने उहाँको सुझाव छ । अभिभावकले पनि कोभिड विरुद्धको खोप उपलब्ध भएसम्म लगाउन आवश्यक छ । बालबालिकालाई सामान्य ज्वरो र खोकी हुँदा घरमा नै औषधि खुवाएर राख्न सकिन्छ । उहाँले भन्नुभयो, “तर उनीहरुलाई सास फेर्न गाह्रो भएमा, ज्वरो उच्च भएमा, बेहोस हुने र सास फेर्न समस्या हुँदा अस्पताल लैजानुपर्छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा