२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाबाट बच्न गुर्जोसहित ४५ जडीबुटी निःशुल्क वितरण

२०७८, ५ जेष्ठ बुधबार ०८:३१

पूर्णप्रसाद मिश्र । जेठ ५,काठमाडौँ (रासस)। नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना लहर तीव्र भइरहेका बेला मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेद चिकित्सकको सल्लाहमा ४५ भन्दा बढी जडीबुटीको धुलो औषधि तयार पारिएको छ । गत वर्ष नेपालमा कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएदेखि नै गुर्जोलगायत केही जडीबुटीबाट बनेको चिया र धुलो औषधि वितरण एवं घरघरमा गुर्जो रोपण अभियान चलाउँदै आउनुभएका अभियानकर्मी कमलबहादुर राजलवटले गुर्जोलगायत ४५ भन्दा बढी जडीबुटीबाट औषधि तयार पारी निःशुल्क वितरण अभियान शुरु गर्नुभएको हो । धुलो औषधिको आयुर्वेदाचार्य डा ऋषिराम कोइरालासँग सल्लाह लिएर तयार पारिएको हो । सयजनाभन्दा बढी नयाँ भेरियन्टसहितको कोरोना पोजेटिभ भएकालाई यो औषधि मङ्गलबार वितरण गरिएको छ ।

औषधी रोग प्रतिरोधी क्षमता बढाउनाका साथै रुघा, खोकी, ज्वरो, फ्लु, ग्याष्ट्रिक, रक्तचाप, मधुमेहलगायत उपयोग गर्न सकिन्छ । न्यून रक्तचाप हुनेले बिरे नुन मिसाएर यो औषधि सेवन गर्न सकिने आयुर्वेद चिकित्सकको सल्लाह छ । समस्याको गम्भीरताका आधारमा आयुर्वेद चिकित्सकसँग सम्पर्क गरेर पनि यो औषधि सेवन गर्न सकिनेछ ।

औषधिमा गुर्जो, तुलसी, असुरो, ज्वानो, दालचिनी, ल्वाङ, हर्रो, बर्रो, अमला, मरिच, पिपला, सुठो, निम, चिराइतो, जेठीमधु, रुधिलो, तीतेपाती, कालोजिरा, बेसार, जङ्गे हर्रो, लेमनग्रास, अम्बापातलगायत ४५ को मिश्रण रहेको उहाँले जानकारी दिनुभयो । दिनमा तीन पटकसम्म मनतातो पानीमा मिसाएर  धुलो औषधि सेवन गर्न सकिने जनाइएको छ । गर्भवती महिला र आठ वर्षमुनिका बालबालिकाकालाई यो औषधि सेवनमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । गुर्जो चिया एक लिटर पानीमा एक चम्चा राखेर उमालेर नछानी खान सकिन्छ । धेरै जडीबुटी मिश्रणसँगै मिसाइएका जडीबुटीको नामका साथै सेवन गर्ने विधिका बारेमा जानकारीसहित प्याकेजिङ गरी वितरण शुरु भएको हो ।

गुर्जोको काँडा र चिया निर्माणमा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्रका कार्यकारी निर्देशक डा रामआधार यादव र डा लेखनाथ ढकालको सल्लाह लिइएको अभियानकर्मी राजलवटको भनाइ छ । गुर्जो चिया रोग प्रतिरोधी क्षमता बढाउन चाहने सबैलाई उपलब्ध गराइने छ । धुलो औषधि भने विशेषगरी कोरोना पोजेटिभ भएकालाई नै उपलब्ध गराइनेछ । काठमाडौँ उपत्यकामा २५ वटा केन्द्र बनाएर औषधि र चियाको धुलो वितरण शुरु गरिएको छ ।

आन्तरिक राजश्व कार्यालय धुलिखेलको कार्यालय प्रमुखसमेत रहनुभएका राजलवटले महामारीका बेला समस्यामा परेका मानिसलाई निःशुल्क औषधि सेवा उपलब्ध गराउन थाल्नुभएको छ । उहाँको यो अभियान गत वर्षदेखि नै जारी छ । 

राजलवटले विसं २०७६ चैतमा नेपालमा कोरोना सङ्क्रमित देखिएदेखि नै गुर्जोका बिरुवा, धुलो, औषधि र चिया निःशुल्क वितरण गर्दै आउनुभएको छ । यसअघि राजश्व कार्यालय लहानको प्रमुख रहनुभएका राजलवटले त्यहाँको सरकारी निवास परिसरमा गुर्जोका  बिरुवा उत्पादन गरी देशव्यापी रुपमा वितरण शुरु गर्नुभएको हो । यस वर्ष पनि गुर्जोको बिरुवा तयार पारी रोप्नका लागि वितरण गर्ने तयारीसमेत भइरहेकोे पनि अभियानकर्मी राजलवटले सुनाउनुभयो । कोरोनाको महामारी तीव्र भएसँगै गुर्जो र यसबाट परिकार सेवन गर्नेको सङ्ख्या बढ्न थालेको छ ।

हालसम्म एक लाख ६० हजारभन्दा बढी गुर्जोका बिरुवा वितरण गरिएको उहाँले सुनाउनुभयो । त्यति नै सङ्ख्यामा गुर्जोबाट बनेको चिया र धुलो पनि निःशुल्क वितरण गरिएको छ । सार्वजनिकस्थलमा हुने कार्यक्रममा निःशुल्क गुर्जोको चियासमेत करीब दुई लाखभन्दा बढी मानिसलाई खुवाइएको राजलवट बताउनुहुन्छ । गुर्जोका परिकारले कब्जियत हटाउने, तरोताजा एवं फुर्तिलोसमेत बनाउने सेवनकर्ताको अनुभव छ ।

यस्तै महत्वको औषधि भएकाले एक घरमा अनिवार्य रुपमा एउटा गुर्जोको बिरुवा रोपे धेरै रोगका लागि औषधिको काम गर्ने, नियमित सेवनले मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने आयुर्वेद चिकित्सक डा शेषराज आचार्य बताउनुहुन्छ । गुर्जोसँगै औषधिजन्य जडीबुटी पनि घरघरमा रोपेर आयुर्वेदको प्रवद्र्धन गर्न उहाँको सुझाव छ ।

आयुर्वेदशास्त्रको ‘यस्य देशस्य यो जन्तो : तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छ, उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने सिद्धान्तका आधारमा गुर्जोजस्ता औषधीय गुणले युक्त वनस्पतिको संरक्षण गरिनुपर्ने आयुर्वेद चिकित्सक आचार्यले बताउनुभयो । हिमालयका काखमा रहेको नेपाली वनपाखामा धेरै किसिमका औषधीय गुणले युक्त जडीबुटी एवं वनस्पति भए पनि तिनको सदुपयोग हुन सकेको छैन । कतिपय जडीबुटी, वनस्पति चोरी–निकासी भई त्यसमा रासायनिक पदार्थ मिलाएर बनाइएको आधुनिक औषधि नेपालमा भित्रने गरेको अभियानकर्मीको गुनासो छ ।

आयुर्वेद अस्पताल र औषधालयलाई प्रवद्र्धन गर्न खोज अनुसन्धानमा जोड दिनुपर्ने चिकित्सक आचार्यको भनाइ छ । आयुर्वेद औषधि उत्पादन गर्ने सिंहदरबार वैद्यखाना विकास समितिसमेत निरन्तर ओरालो लागेकाले सराकोर भएका निकायको ध्यान जानुपर्ने अभियानकर्मीको भनाइ छ । सिंहदरबार वैद्यखाना विकास समितिका निमित्त कार्यकारी निर्देशक डा सबरी साह गुर्जो चिया, तुलसी चिया, सिलाजित, च्यवनप्रास, अश्वगन्ध तेल, अविपत्तिकर चूर्ण लगायतको माग बढिरहेको बताउनुहुन्छ । माग बढेकाले कतिपय औषधिको उत्पादनसमेत बढाइएको उहाँले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा