पढ्न करिब 2 मिनेट लाग्छ

जेठ १२, नयाँदिल्ली (रासस/एएनआई) । भारतमा आगामी डिसेम्बरसम्ममा ६० करोड मानिसलाई दुवै खोप लगाइसकिने दावी गरिएको छ ।

भारतको चर्चित तथा प्रतिष्ठित मेदान्त अस्पतालका अध्यक्ष डा नरेश त्रेहानले आगामी जुलाईदेखि अगस्टसम्ममा खोपको अभाव अन्त्य हुने पनि दावी गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “भारतमा यस वर्षको डिसेम्बरसम्ममा ६० करोड मानिसलाई दोस्रो मात्राको खोपसमेत लगाइसकिने छ, खोपको उत्पादन र खोप लगाउने अभियान तीव्ररुपमा भइरहेको छ ।”

वरिष्ठ चिकित्सक त्रेहानले भारतलाई कोरोनाभाइरस विरुद्धको खोप उत्पादन गर्ने “हब”समेतको संज्ञा दिनुभएको छ ।

भारतको जनसङ्ख्या पनि अति धेरै भएकाले सबैलाई खोप लगाइसक्न समय धेरै लाग्ने भएको पनि उहाँको भनाइ थियो ।

सामान्यतया हरेक व्यक्तिले छ महिनामा खोपको दुवै मात्रा लगाउन सक्ने र आठ हप्तामा खोपले पूर्णरुपमा काम गर्न थाल्ने पनि उहाँले जानकारी दिनुभयो ।

झण्डै ६० करोड मानिसलाई खोपले पूर्णरुपमा काम गर्न थालेको अवस्थामा मानवीय क्षति पनि धेरै कम हुने, महामारी न्यून हुने डा त्रेहानले विश्वास व्यक्त गर्नुभएको छ ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म भारतमा कूल २० करोड डोज खोप लगाइएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्काअनुसार देशभरी अहिलेसम्म २२ करोड १७ लाख नमूना परीक्षण गरिएको छ ।

कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि सङ्क्रमण दरमा कमी आएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण दरमा ९.४२ प्रतिशतले कमी आएको छ भने विगत १३ दिनदेखि सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने व्यक्तिको सङ्ख्या बढी छ ।

दैनिक मृत्युदरमा सोचेजति कमी आएको छैन । मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा चार हजार १५७ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएको उल्लेख छ । योसहित भारतमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन लाख ११ हजार ३८८ जनाको ज्यान गएको छ ।

भारतमा हाल कोरोनाभाइरसका २४ लाख ९५ हजार व्यक्ति सक्रिय सङ्क्रमित अवस्थामा छन् । विगत २४ घण्टामा ९१ हजार व्यक्ति कोरोनाबाट सङ्क्रमणमुक्त भएका छन् । भारतमा गत मे १० मा सक्रिय सङ्क्रमितको संख्या उच्च विन्दुमा पुगेको थियो । पछिल्लो २४ घण्टामा दुई लाख ९५ हजार ९५५ जना सङ्क्रमणमुक्त भएसँगै भारतमा हालसम्म कूल दुई करोड ४३ लाख ५० हजार व्यक्ति सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त दरमा सुधार भएर ८९.६६ प्रतिशत पुगेको छ । देशभर कोरोनाबाट हालसम्म सङ्क्रमित हुनेको कूल संख्या दुई करोड ७१ लाख ५७ हजार रहेको छ ।