पढ्न करिब 2 मिनेट लाग्छ

जेठ २०, काठमाडौं । कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञा खुलेलगत्तै जयनगर–जनकपुर खण्डमा रेल सञ्चालन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल सञ्चालनका लागि सबै तयारी पूरा भएको जनाएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सबै तयारी पूरा भएकाले निषेधाज्ञा खुलेपछि जयनगर–जनकपुर खण्डमा रेल सञ्चालन हुने जानकारी दिएका छन् ।

‘व्यवस्थापनदेखि रेलवे अध्यादेशसमेत ल्याइसकेका छौं, नीतिगतदेखि गर्नुपर्ने सबै तयारी भइसकेको छ,’ मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘निषेधाज्ञाका कारण सञ्चालन गर्न पाइएको छैन ।’

मन्त्रालयले भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेलाई एक वर्षका लागि करिब ३५ करोड रुपैयाँमा रेल चलाउने जिम्मा दिएको हो । कम्पनीले २६ मुख्य प्राविधिक ल्याएर एक वर्षसम्म सञ्चालन गर्ने जनाइएको छ । नेपाल जनकपुरदेखि भारत जयनगरसम्म सञ्चालनका लागि आठ महिनाअघि ल्याइएको रेल पालले छोपेर राखिएको छ ।

सरकारले सञ्चालनका लागि कानुनी बाध्यता फुकाउन रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरे पनि कोरोना बाधक बनेको छ । रेल सञ्चालनका लागि पटक–पटक समय तोक्दै आएकोमा जनशक्तिदेखि कानुन अभावलगायत कारण सञ्चालन हुन नसकेको हो ।

भारतबाट रेल ल्याइए पनि सुरुदेखि नै सञ्चालन गर्न जनशक्ति, संरचना तथा कानुन अभाव तथा अन्तरदेशीय अनुमति समस्या रहँदै आएको छ । सरकारले पछिल्लोपटक गत चैतमा सबै तयारी पूरा भएको जनाउँदै चाँडै सञ्चालन हुने बताएको थियो ।

रेल सञ्चालनका लागि सो रेल बसेर र उभिएर गरी १ हजार २ सयदेखि १ हजार ३ सयसम्म यात्रु सक्ने अट्ने क्षमताको छ । सन् २०१४ देखि बन्द नेपालको एक मात्र रेलमार्ग पुनः सञ्चालन व्यवस्थासहित सरकारले असोजमा १ अर्ब रुपैयाँभन्दा बढी खर्चेर भारतबाट दुई रेल ल्याएको थियो । यो समाचार राजधानी दैनिकमा छ ।