६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेलम्ची खानेपानी आयोजनामा गेग्य्रान हटाउन सुरु

१८ माघ २०७८, मंगलवार ०८:३६

माघ १८, काठमाडौँ | मेलम्ची खानेपानी आयोजनाका विभिन्न संरचनामा रहेका गेग्य्रान हटाएर पुरिएका संरचना निकाल्न थालिएको छ । आयोजनामा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो प्रालिले गएको वर्षामा पुरिएका संरचना खुलाउन लागेको हो । वर्षामा बाढी र पहिराका कारण पुरिएर रहेका संरचना खुलाएर मर्मत गरेर पुनः काठमाडौँ उपत्यकामा खानेपानी ल्याउन तयारीको काम भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । 

गत शुक्रबारदेखि कम्पनीले दुई चरणमा काम भइरहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । केही दिनमा नै तीन सिफ्टमा हुने र सकेसम्म चाँडो सक्ने गरी तीन ठाउँमा काम गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तीनतीनवटा डोजर राखेर काम भइरहेको जानकारी आएको छ ।” 

संरचनामा रहेको लेदो सफा गरेर पहिले अम्बाथान अडिट खोलिने सूचना अधिकारी पन्तले बताउनुभयो । त्यो खोल्नासाथ सुरुङको ‘डिवाटरिङ’ गर्न सकिन्छ । सुरुङ खाली भएपछि त्यसको निरीक्षण गर्ने र भित्र केही साधरण सुधार गर्नुपर्ने भए गर्न सकिने उहाँले बताउनुभयो । त्यसपछि हेडवर्क र डाइभर्सन टनेल सफा गर्न सकिन्छ । उहाँले भन्नुभयो, “यी कामसँगसँगै गर्नुपर्ने भएकाले तीन ठाउँबाट काम गर्नुपर्छ ।” 

अम्बाथान अडिटको लम्बाइ २९८ मिटर रहेको छ । मेलम्ची खोलाको भित्रतिर रहेको छ भने खोलाको धेरै गिट्टी–बालुवाभित्र नपसेको होला भन्ने आयोजनाको अनुमान छ । अडिटभित्र झन्डै पाँच हजार ४०० घनमिटर लेदो थुप्रिएको हुनसक्ने अनुमान गरिएको छ । उहाँका अनुसार त्यो परिमाण लेदो खाँदिएको अवस्थामा हुनसक्छ भने खाँदिएको नभएमा त्यो परिमाण कम हुनसक्ने अनुमान छ । 

मुख्य सुरुङमा भने भित्र लेदो नपसेकाले सञ्चालनमा समस्या नभएको आयोजनाले जनाएको छ । यसको मर्मत र सुधारका लागि धेरै समय नलाग्ने अनुमान छ । सुरुङको मुख खोल्नासाथ केही दिनमा नै सफा गरिहाल्न सकिने उहाँले बताउनुभयो । मुख्य सुरुङलाई अडिट सुरुङले जोड्ने गर्छ । अहिले अडिट सुरुङ नै सुरुमा नै पूरै नभरिएको हुनसक्ने अनुमान गरिएको छ । सो सुरुङभित्र गएको छ/छैन भनेर मुख खोलेर हेरेर नै थाहा हुने उहाँले बताउनुभयो ।

बाढीपहिराले थुपारेको लेदोका कारण सबैभन्दा बढी ‘हेडवर्क’ पुरिएको हुनसक्ने र संरचनामा नै असर गरेको हुनसक्ने अनुमान गरिएको छ । यहाँ झन्डै तीनचार लाख घनमिटर लेदो रहेको, त्यो हटाउनु नै सबैभन्दा महत्वपूर्ण काम भएको सूचना अधिकारी पन्तले बताउनुभयो । अहिले त्यो पूरै हटाउनेभन्दा पनि पानीसम्म जानसक्ने बनाउन लागिएको छ ।  

अहिले नदी बगिरहेकाले त्यसैलाई सहयोग हुने गरी दायाँबायाँबाट गिट्टी बालुवा झिकेर हटाइने सूचना अधिकारी पन्तले बताउनुभयो । अहिले हेडवर्कमा रहेका सबै लेदो हटाउनेभन्दा पनि पानीसम्म बगाउने गरी सफा गरिनेछ । हेडवर्कको गेट नं ९, गेट नं १ र अम्बाथान अडिट नजिकै गरी तीन ठाउँमा अहिले काम गनुपर्नेछ । नौ नं गेट र एक नं गेटमा समस्या भए पनि अस्थायी रुपमा चलाउन सकिन्छ भन्नेछ । 

चैतसम्ममा पानी चलाउन सकिएमा जेठसम्म चल्यो भने सुरुङमा केही भएको छैन भन्ने बुझिने सूचना अधिकारी पन्तले बताउनुभयो । ‘हेडवर्क’ मा क्षति कम भएमा मर्मत हुनेछ भने धेरै क्षति भएको पाइएमा पुनः डिजाइन गरेर नयाँ ठाउँमा बन्नसक्छ ।  

मुख्य सुरुङमा पहिले पानी भर्दा २६० लिटर प्रतिसेकेन्डका दरले भरिएको थियो र अहिले पनि त्यही प्रक्रिया अपनाइने आयोजनाले जनाएको छ । अहिले पनि सुन्दरीजल, सिन्धु र ग्यालथुमबाट पानी निकालिरहेको छ । अम्बाथान र ग्यालथुम बीचको खण्डमा पानी भरिएको र त्यो खण्डमा अम्बाथान अडिट टालिएकाले निकाल्न नसकिएको सूचना अधिकारी पन्तले बताउनुभयो । त्यो खण्डमा पानी रहेको छ भने अम्बाथान अडिट दुई हप्ताभित्र खोल्न सकेमा पानीबाहिर निकाल्न सकिन्छ । त्यसपछि सुरुङ निरीक्षण गरिने उहाँले बताउनुभयो । माघभरमा सुरुङ खोल्न सकेमा फागुनमा निरीक्षण हुने उहाँले बताउनुभयो । तीन खण्डमा निरीक्षण गर्दा एक हप्तामा सकिने गरी योजना बनाइएको छ । उहाँले भन्नुभयो, “निरीक्षणका लागि तीन टोली खटाउन सकिन्छ ।” 

फागुन पहिलो साता निरीक्षण सकियो र सुरुङभित्र कुनै समस्या छैन भन्ने भएमा फागुन अन्तिमसम्ममा पानी ल्याउन अरू काम गर्न सकिने सूचना अधिकारी पन्तले बताउनुभयो । अब गर्नुपर्ने काममा ‘कफर ड्याम’ बनाउने, हेडवर्क गेट नं ९ खोल्नेलगायतका छन् । उहाँका अनुसार चैतको एकदुई साता काम गर्नुपरे पनि अन्तिमसम्ममा ल्याउन सकिन्छ । 

काठमाडौँ उपत्यकावासीको धारामा चैतभित्रमा आउनसक्ने गरी योजना बनाइएको आयोजनाले बताउँदै आएको छ । अहिले गर्नुपर्ने तीन ठाउँमा सफा गर्न कति समय लाग्छ पानी पथान्तरण गर्ने कुरा त्यसमा निर्भर रहन्छ । उहाँका अनुसार ती संरचनामा कति क्षति पुगेको छ भनी खोलेर हेरेपछि मात्रै थाहा हुन्छ । उहाँले भन्नुभयो, “कम्पनीले काम सुरु गरिसकेकाले अबको दुईतीन दिनमा भित्रको अवस्था के छ भनी थाहा हुन्छ ।” 

अस्थायी किन ?

अहिले तत्काल स्थायी रुपमा ल्याउनका लागि हेडवर्क पूरा नभएकाले अस्थायी बाँधबाट नै पानी पथान्तरण हुने आयोजनाले जनाएको छ । गत वर्ष वैशाख जेठमा पानी चलाउँदा पनि अस्थायी बाँधबाट नै पठाइएको थियो । निर्माणाधीन ‘हेडवर्क’ को संरचना अहिले पूरै पुरिएको छ र यो क्षतिग्रस्त हुनसक्ने अनुमान छ । पानी पठाउने काम स्थायी वा अस्थायी रुपमा गर्ने भनी निर्णय गर्नका लागि अध्ययनको प्रतिवेदन आउनुपर्छ । अध्ययनका क्रममा कम क्षति पाइएकामा र मर्मत मात्रै गरेर चलाउन सक्ने भएमा स्थायी रुपमा नै गर्न सकिने हुनसक्छ । तर संरचना सुरक्षित छैन र अर्को बनाउनुपर्छ भने त्यसका लागि यही ठेक्का वा नयाँ ठेक्कामार्फत निर्माण अघि बढाउनुपर्ने हुनसक्ने सूचना अधिकारी पन्तले बताउनुभयो । त्यसका लागि अर्को एकदुई वर्ष पनि लाग्नसक्छ । अहिले अस्थायी रुपमा पुनःनिर्माण गरेर चलाउन सकिन्छ । 

गत वर्ष जस्तै दोहोरिन नदिन

गत आवमा जस्तै विपत्ति दोहोरिने सम्भावना भए पनि आयोजना स्थलभन्दा माथिल्लो भागमा संरक्षणको काम सुरु भएको छैन । गत असार १ गते माथिबाट बाढी आउनसक्ने अनुमान नभएकाले सुरक्षाको काम हुन नसकेको र अहिले अगाडिदेखि सुरक्षाका काम गर्न सकिने उहाँले बताउनुभयो । अहिलेदेखि नै त्यहाँको सुरक्षाका लागि काम गर्न सकिनेछ । अम्बाथान अडिट नपुरियोस् भनेर माथिबाट संरचना बनाउन सकिन्छ भने एक नं माथि अस्थायी संरचना बनाएमा त्यो पुरिन पाउँदैन । सरकारले वा दातृ निकायबाट त्यहाँको अध्ययन भए पनि अहिलेसम्म समाधानको काम हुन सकेको छैन । अध्ययन प्रतिवेदन आएपछि मेलम्ची वा सम्बन्धित निकायले नै सुरक्षाको काम गर्नसक्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति