पढ्न करिब 2 मिनेट लाग्छ

माघ ७, काठमाडौँ | नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सदनमा स्वस्थ र नीतिगत बहसलाई उचित व्यवस्थापनका साथ प्रोत्साहित गरिने बताउनुभएको छ ।

सभामुखमा निर्वाचित भएपछि पहिलो पटक संसद्लाई सम्बोधन र सांसदलाई स्वागत गर्दै उहाँले संसद्मा राजनीतिक दलहरुका बीचमा दार्शनिक, नीतिगत र कार्यक्रमिक प्रतिस्पर्धा हुनु यसको आधारभूत चरित्र भएको उल्लेख गर्नुभयो ।

“संसद् प्रतिस्पर्धाको थलो पनि हो, संसद्मा हुने नीतिगत बहस विमर्श र स्वस्थ प्रतिस्पर्धा नै संसदीय व्यवस्थाको जीवन्तता हो”, उहाँले भन्नुभयो, “संसदीय व्यवस्थामा सत्तापक्ष आफ्नो नीति कार्यक्रम र योजनाका माध्यमबाट जनतासमक्ष पुगेको हुन्छ भने प्रतिपक्षी दल सत्तापक्षको नीतिगत र कार्यक्रमिक योजनाको गुण र दोषबारे सत्तापक्षलाई सचेत र खबरदारी गर्ने गर्दछन् ।”

सभामुख घिमिरेले प्रतिनिधिसभा सञ्चालनका लागि संविधान र प्रचलित कानुन एवम् प्रतिनिधिसभा नियमावलीले गरेका मार्गदर्शन नै सभा सञ्चालनका प्रमुख आधार रहने बताउनुभयो । उहाँले भन्नुभयो, “जनताप्रतिको उत्तरदायित्व र जवाफदेहितालाई सदैव आफ्नो पथ प्रदर्शकका रुपमा आत्मसात् गर्नु मेरो प्राथमिक दायित्व हो ।”

सभामुख घिमिरेले बहुदलीय व्यवस्थामा राजनीतिक दलहरु नै संवैधानिक र संसदीय अभ्यासका असली सञ्चालक भएको हुनाले दलहरुको आपसी सद्भाव, सहमति र समन्वयमा नै संसद्को गतिशीलता तथा क्रियाशीलता निर्भर रहने बताउनुभयो । उहाँले सभामुखको पद तटस्थ, निष्पक्ष र समन्वयकारी हुने भएकाले यो पदको गरिमा र साखको अभिवृद्धि गर्नु आफ्नो संवैधानिक दायित्व हो भन्नेमा आफू सदैव सचेत र क्रियाशील रहने उल्लेख गर्नुभयो ।

संविधान र कानुनका अधीनमा रही राजनीतिक दलहरुको आपसी सहमति र सहकार्य नै सभा सञ्चालनका मजबुत आधार भएको बताउँदै सभामुख घिमिरेले राजनीतिक दलहरुले सभा सञ्चालनका लागि निरन्तर सहयोग हुने अपेक्षा गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाली जनताको विकास र समृद्धिको व्यग्रतापूर्वकको चाहनालाई सफल बनाउने कार्यमा प्रतिनिधिसभा निरन्तर क्रियाशील रहनेछ भन्ने दृढ विश्वाससमेत व्यक्त गर्न चाहन्छु ।”

उहाँले सभामुखको हैसियतले संसदीय अभ्यासका क्रममा विकसित गरेका असल अभ्यासको अनुसरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । लोकतन्त्र प्राप्ति, सामाजिक परिवर्तन, कानुनी शासन र समृद्धिको पक्षमा हालसम्म भएका आन्दोलनमा जीवन आहुति दिने सम्पूर्ण शहीदको उच्च सम्मानका साथ स्मरण गर्दै सभामुख घिमिरेले उहाँहरुले देखाउनुभएको बाटोमा अविचलित क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।