पढ्न करिब 2 मिनेट लाग्छ

फागुन १५, काठमाडौँ | बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएर रिहा हुन लागेका अभिनेता पूर्णविक्रम शाह (पल शाह) को स्वागतका लागि उनका समर्थकको दमौलीमा भीड लागेको छ ।

नाबालिग बलात्कारको उजुरी परे पनि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । तर उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ दिएपछि पल शाहले सफाइ पाएका हुन् ।

शाह सफाइ पाएर जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतबाट रिहा हुन लागेपछि उनका समर्थक दमौलीमा पुगेका हुन् ।

पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएकाले सोमबार (आज) रिहा हुने जानकारी दिए ।

एक गायिकाले सुटिङको क्रममा शाहले आफूलाई बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । १५ फागुनमा शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए ।

त्यसपछि ती गायिकाले नवलपरासी पूर्वको एक रिसोर्टमा पनि २०७७ चैत ७ गते आफूमाथि शाहले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा पनि जाहेरी दिएकी थिइन् । त्यसपछि शाहलाई नवलपरासी पूर्वमा पनि झिकाएर प्रहरीले बयान लिएको थियो ।

उनलाई तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि पूर्वी नवलपरासी (नवलपुर) जिल्ला अदालतले भने साढे दुई वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिन आदेश दिएको थियो । त्यसविरुद्ध शाहले पुनरावेदन दिएका थिए ।

आइतबार न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले शाहमाथि लागेको अभियोगमा सफाइ दिने फैसला गरेको थियो । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएकाले शाह सोमबार रिहा हुन लागेका हुन् ।