पढ्न करिब 2 मिनेट लाग्छ

साउन २२, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलन नदिन गरिएको लकडाउनपछि २२.५ प्रतिशत कामदारले रोजगारी गुमाएका गुमाएको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले गरेको ‘कोभिड-१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी सर्वेक्षण प्रतिवेदन’अनुसार उद्योगी/व्यावसायीहरूले २२.५ प्रतिशत कर्मचारी/कामदार कटौती गरेको पाइएको छ ।

यो सर्वेक्षण ५२ जिल्लाका ६७४ उद्योगी/व्यवसायीमा गरिएको हो । सहभागीहरूले २६ असारदेखि १० साउनबीचमा अनलाइनमार्फत सर्वेक्षण फारम भरेका थिए । अध्ययनअनुसार जागिर गुमाएकामध्ये ७०.६ प्रतिशत अस्थायी तथा करारका कर्मचारी/कामदार छन् ।

जागिर गुमाउनेहरू मध्ये सबैभन्दा बढी अर्थात ४० प्रतिशत भन्दा बढी होटल तथा रेष्टुरेन्ट क्षेत्रका छन् । शिक्षा क्षेत्रका भने ६ प्रतिशत भन्दा कम कामदार/कर्मचारी कटौतीमा परेका छन् ।

विद्युत, ग्याँस तथा पानीसँग सम्बन्धित ३९.७१ प्रतिशत, थोक तथा खुद्रा व्यापार र उत्पादनमुलक उद्योगमा कार्यरत एक चौथाई कर्मचारी कटौतीमा परेको देखिन्छ । सञ्चार क्षेत्रका २१. ३१ प्रतिशतले रोजगारी गुमाएका छन् ।

स्वास्थ्य तथा सामाजिक कार्यसँग सम्बन्धित १५ प्रतिशतको जागिर गुमेको प्रतिवेदनमा उल्लेख छ । सर्वेक्षणमा सहभागी उद्योग/व्यवसायहरुले औसतमा १८.२ प्रतिशत तलब कटौती गरेको पाइएको छ । तलब कटौती गर्नेमा होटल तथा रेष्टुरेन्ट, यातायात तथा भण्डारण र शिक्षा क्षेत्र अगाडि छन् ।

कर्मचारी/कामदारलाई प्रदान गर्दै आएको भत्ता तथा अन्य सुविधाहरुमा समेत उल्लेख्य रुपमा कटौती गरेको देखिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘ठूला उद्योग/व्यवसायहरुले अन्यको तुलनामा धेरै प्रतिशत तलब कटौती गरेको देखिएको छ ।’

बन्दाबन्दीको अवधिमा ठूला र मझौला उद्योग/व्यवसायको तुलनामा घरेलु उद्योग, लघु उद्यम/साना खुद्रा व्यापार र साना उद्योग/व्यवसायहरु बढी प्रभावित रहेको पाइएको सर्वेक्षणले देखाएको छ ।