कपिलवस्तुमा रात्री बस दुर्घटना, १० जनाको मृत्यु

Posted on: 15 Feb, 2024

फागुन ३, लुम्बिनी | कपिलवस्तुमा यात्रुबहाक बस दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ। कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको हो। 

बुधबार राति १ बजे महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। 

सुनौलो महाकाली यातायातले सञ्चालन गरेको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको थियो। दुर्घटनामा परी ३० जना घाइते भएका छन्। घाइते मध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको छ। अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए।  

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार मृतकमध्ये तीन महिला र चार पुरुष छन्। उनीहरूको सनाखत हुन सकेको छैन। घाइते सबैको उद्धार गरी अस्पताल पठाइसकिएको प्रहरीले जनाएको छ। बसमा ४० यात्रु सवार सवार रहेको र चालक पनि घाइते रहेको प्रहरीले बताएको छ।

तिव्र गतिका कारण बस सडकबाट तल खसेको प्रहरीको अनुमान छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!