बीभत्स हत्यापछि गाडिएको शवको सनाखत

Posted on: 20 Feb, 2024

फागुन ८, तौलिहवा (कपिलबस्तु) | जिल्लाको कपिलवस्तु नगरपालिका-४ पिपरी गाउँ नजिकैको नहरको कुलोमा बीभत्स हत्या गरेर गाडिएको शवको सनाखत भएको छ । कोदवहा चोकदेखि दक्षिण ५ सय मिटर नहरको कुलोमा शरीर जलाइएको र टाउको नभएको शव आइताबार साँझ फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार शव कपिलवस्तुको महाराजगन्ज नगरपालिका–६ भलवारीका २७ वर्षीय शिव कुमार कुर्मीको रहेको खुलेको छ । मृतक कुर्मी गत शनिबार साँझदेखि सम्पर्कविहीन भएका थिए । पारिवारिक श्रोतका अनुसार नजिकै घुमेर आउँछु भनेर घरबाट निस्केका उनी सम्पर्कविहीन भएका थिए ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको शवलाई मृतकका भाइले सनाखत गरेका हुन् । शरीरको केही भाग जलेको भएपनि कपडाले आफ्नै छोरा रहेको मृतकका बुवा रामपति कुर्मीले बताउनुभयो । शवलाई पोस्टमार्टमका लागि सोमवार बुटवल लगिएको थियो । शवको सनाखत भएपछि प्रहरीले घटनाको अनुसन्धान सुक्ष्मरुपले गरेको प्रहरी उपरीक्षक पौडेलको भनाइ छ । घटनाको कारण र अभियुक्त चाँडै कानुनको दायरामा आउने उहाँले बताउनुभयो । 

उहाँका अनुसार शवको टाउको भने अझै फेला परेको छैन । शव गाडिएको स्थलदेखि अढाई सय मिटर उत्तरतर्फको खेतमा समेत रगत देखिएको प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!