पढ्न करिब 2 मिनेट लाग्छ

मंसिर १, काठमाडौं | राप्रपासँगको सहकार्यमा एकीकरणपछि सरकारमा सहभागी हुने राप्रपा नेपालको निर्णयका कारण प्रमुख प्रतिपक्षमा एमाले एक्लिदैछ । संसदको चौथो ठूलो शक्ति राप्रपा नेपाल सत्तामा जान सहमत भएपछि राप्रपासँगको एकीकरण पनि तय छ ।

राप्रपा नेपाल र राप्रपा एकीकरण गरी सरकारमा दुई मन्त्री थप पठाउने विषयमा नेताहरूबीच गोप्य सहमति भएको स्रोतले बताएको छ। यो सहमतिपछि मंगलबार दुई पार्टीका अध्यक्षले संयुक्त विज्ञप्ति प्रकाशित गरी मंसिर ६ गते पार्टी एकता घोषणाको मिति सार्वजनिक गरेका हुन्।

हाल राप्रपाबाट दुई मन्त्री सरकारमा सहभागी छन्। केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी राप्रपा नेपाल अहिले प्रतिपक्षमा छ।

साउन २५ मा एकीकरणको अन्तिम चरणमा पुगेका बेला राप्रपाले सरकारमा पठाएका मन्त्रीलाई फिर्ता बोलाउनुपर्ने र नपर्ने विषयमा विवाद भएपछि एकीकरण स्थगित भएको थियो । तर यसपटक भने पार्टी एकीकरणपछि सरकारमा थप मन्त्री पठाउने सहमति राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाबीच भएको स्रोतले बतायो ।

स्रोतका अनुसार संविधान संशोधन प्रस्तावको टुंगो लागेपछिमात्र सरकारमा थप मन्त्री पठाइनेछ । दुई नेताबीच नागरिकताभन्दा बाहेक अन्य विषयमा प्रस्तावका पक्षमा उभिने सहमति पनि भएको छ । एकीकरणपछि राप्रपा नेपालका २५ र राप्रपाका १३ गरी ३८ सांसद हुनेछन् ।

एकताका लागि यसअघि नमिलेको भनिएका केही विषयमा समेत सहमति भएको स्रोतले बताएको छ । दुवै नेताले यसअघि विमति भएको भनिएका अन्तरिम विधानमा हस्ताक्षर गरेका छन् । अघिल्लोपटक अध्यक्षलाई अनुशासन समितिको सिफारिस सदर वा बदर गर्ने व्यवस्था भएको र यसपटक भने राष्ट्रिय अध्यक्ष र अध्यक्ष दुवैको सहमतिमा हुने व्यवस्था गरिएको स्रोतले बतायो । सहमतिअनुसार थापाले अध्यक्ष र संसदीय दलको नेताको जिम्मेवारी पाउनेछन् । त्यसैगरी राणाले राष्ट्रिय अध्यक्षको जिम्मेवारी पाउनेछन् । एकीकृत पार्टीको नाम राप्रपा रहने र झन्डा भने राप्रपा नेपालको रहने सहमति भएको छ । उनीहरूबीच हिन्दु राष्ट्रलाई बटमलाइन बनाएर अगाडि बढ्ने सहमतिसमेत भएको छ ।

मंगलबार दुई अध्यक्ष थापा र राणले संयुक्त विज्ञप्ति प्रकाशित गरी देशमा बलियो राष्ट्रवादी शक्तिको आवश्यकता रहेकाले दुई पार्टीबीच मंसिर ६ मा एकीकरण हुने घोषणा गरेका छन् । उनीहरूले आगामी माघभित्र पार्टीको एकता महाधिवेशन गर्नेसमेत उल्लेख गरेका छन् । – अन्नपूर्ण