कात्तिक २३, काठमाडौँ । सर्वोच्च अदालतले म्याद तामेलीमा अवरोध गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीसहित चारजनालाई एकहप्ताभित्र लिखित जवाफसहित आफैं उपस्थित हुन आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले आज एकहप्ताभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको हो । आदेशमा भनिएको छ – “सजाय नगर्नु पर्ने कुनै आधार र कारण भए सातदिनभित्र स्वयम् उपस्थित भई लिखित जवाफ पेस गर्नू ।”

म्याद तामेलीमा अवरोध गरेको भन्दै कार्कीसहित उहाँका ज्वाइँ प्रवल थापा, पूर्व सचिव प्रमोद कार्की र असई नकुल गौतमलाई एकहप्ताभित्र लिखित जवाफ दिन आदेश दिइएको छ ।

आयोगका निलम्बित प्रमुख आयुक्त कार्कीले अदालतको म्याद तामेलीमा अवरोध पु¥याएको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले निवेदन दिएका थिए ।

सर्वोच्च अदालतले अधिवक्ता अर्यालकै रिट निवेदनमा कार्कीको योग्यतासम्बन्धी फैसला पुनरवलोकन गर्ने फैसला सुनाएको थियो । सोही फैसलाको म्याद तामेलीका लागि गएको टोलीलाई आयुक्त कार्कीका ज्वाइँलगायतको टोलीले अवरोध गरेको थियो ।

कार्कीलाई लिखित जवाफसहित उपस्थिति हुन सर्वोच्चको आदेश