पढ्न करिब 1 मिनेट लाग्छ
<p>पुस २०, काठमाण्डौ । राजनीतिक सहमतिका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले आज विहान ९ बजे सर्वदलीय बैठक आव्हान गरेका छन् । सर्वदलीय बैठकमा प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा सहमति खोज्न प्रयास हुने बताइएको छ ।<br></p><p>प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पाँच दलबीच सहमति जुटे लगतै बस्ने मन्त्रिपरिषद् बैठकबाट राष्ट्रियसभाको निर्वाचन तथा प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने सरकारको तयारी छ । यसअघि निर्वाचन लगत्तै प्रदेश प्रमुख तोक्ने तयारीमा जुटेको सरकार वाम गठबन्धनका नेताहरूको विरोधपछि पछि हटेको थियो । कानुनी रूपमै प्रदेश प्रमुख तोक्नुपर्ने बाध्यता भएपछि सरकारले सहमति प्रयास थालेको हो । कानुन अनुसार प्रदेशको निर्वाचन परिणाम प्रदेश प्रमुख र प्रतिनिधिसभाको राष्ट्रपतिलाई बुझाउनुपर्छ ।</p><p>निर्वाचन आयोगले प्रदेश प्रमुख तोक्न ताकेता गर्दै आए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमति खोज्न मंगलबारबाटै राजनीतिक परामर्श गरेका हुन् । आज बिहान ९ बजे बालुवाटारमा बोलाइएको बैठकमा प्रतिनिधि सभामा रहेका ५ दलहरु कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम नेपालका शीर्ष नेता सहभागी हुनेछन् ।</p>

