पढ्न करिब 1 मिनेट लाग्छ

असोज ७, काठमाडौं। नेकपा एमालेबाट विभाजन भएर बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी) ले जनताको बहुदलीय जनवाद (जबज) लाई आत्मसात गर्ने भएको छ।

बिहीबार काठमाडौंमा आयोजित पार्टी निकट युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जबजलाई आत्मसात गरेर अगाडि बढ्ने बताए। उनले जबजको मूल्य र मान्यताको रक्षा गर्न चाहेको बताए।

जबज नेकपा एमालेको मार्गदर्शक सिद्धान्त हो। अब यो राजनीतिक कार्यक्रमलाई आत्मसात गर्ने दलको संख्या दुई हुने भएको छ। नेकपा एमालेबाट विभाजन भएको नेकपा एसको सांगठनिक संरचना पनि नेकपा एमालेकै ढाँचामा हुने देखिएको छ। तर, अध्यक्ष नेपालले आफ्नो पार्टीमा युवाहरुलाई उचित स्थान हुने बताउँदै आएका छन्।

नेकपा एसले बिहीबार नै पार्टीको पदाधिकारी टुङ्ग्याउँदै छ। ५ उपाध्यक्ष, १ महासचिब, ३ उपमहासचिब र ४ सचिवको पदाधिकारी बनाउने स्थायी कमिटीले निर्णय गरिसकेको नेताहरुले जानकारी दिएका छन्। बिहीबार नै केन्द्रीय कमिटी बैठकले पदाधिकारी घोषणा गर्नेछ।