पढ्न करिब 2 मिनेट लाग्छ

माघ ९, काठमाडौँ | पाँच दलीय सत्ता गठबन्धनले कानून व्यवसायीहरूसँग छलफल गर्दै छन्। स्थानीय तहको निर्वाचनका विषयमा परामर्श लिन गठबन्धनले कानूनविद्सँग छलफल गर्न लागेको हो। छलफल अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने गठबन्धनका नेताहरूले बताएका छन्।

संविधानमा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिएको ६ महिनाभित्र अर्को निर्वाचन गर्ने भन्ने छ। निर्वाचन ऐनमा भने कार्यकाल सकिनु दुई महिना अगावै निर्वाचन गरिसक्नुपर्ने उल्लेख छ। आयोगले माघको पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति तोक्नुपर्ने प्रस्ताव गरेको छ।

आयोगले आगामी वैशाख १४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न सरकारसँग यसअघि नै प्रस्ताव गरिसकेको छ। एकै चरणमा सम्भव नभए वैशाख १४ गते पहिलो र वैशाख २२ गते दोस्रो चरणको निर्वाचन मिति तोक्ने आयोगको प्रस्ताव गरेको छ।

शुक्रवार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीन तहको निर्वाचन गर्नुपर्ने सरकारको दायित्व पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। स्थानीय तहका पदाधिकारीको पाँच वर्षे कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ।

निर्वाचनको तयारीका लागि १ सय २० दिन आवश्यक पर्ने भएकोले सरकारलाई निर्वाचनको मिति तोक्न आयोग र प्रमुख प्रतिपक्ष दल एमालेले दबाब दिँदै आएको छ। तर सत्ता गठबन्धन तीनै तहको निर्वाचन एकै पटक गर्ने वा छुट्टा छुट्टै मितिमा गर्ने अन्योलमै रहेको छ।