चैत ८, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका घाइते तथा अपाङ्गता भएका व्यक्तिको उचित स्वास्थ्योपचारको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरी उहाँले घाइते/अपाङ्ग योद्धाका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

अध्यक्ष दाहालले जनयुद्धमा घाइते भई अपाङ्गता भएका व्यक्तिको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ लाई संशोधन र घाइते भई अपाङ्गता भएका व्यक्तिको लगत सङ्कलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपाङ्गता भएका व्यक्तिलाई सूचीकृत गर्न आग्रह गर्नुभयो ।

उहाँले जनयुद्धका क्रममा घाइते भई अपाङ्गता भएका व्यक्तिलाई सुविधासहित गणतान्त्रिक सेनानीको परिचयपत्र र सम्मानपत्र दिन, जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलनलगायत प्रगतिशील आन्दोलनमा शहीद भएकाको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पूरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई यथाशीघ्र कार्यान्वयन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

अध्यक्ष दाहालले जनयुद्धका क्रममा जेल जीवनयापन गरी यातना पीडित भएका व्यक्तिलाई सम्मान पत्रसहित राहत उपलब्ध गराउन पनि आग्रह गर्नुभयो ।

सो क्रममा प्रधानमन्त्रीले जनयुद्धका शहीद तथा बेपत्ता परिवार, घाइते तथा अपाङ्गता भएका व्यक्तिको व्यवस्थापन शान्ति प्रक्रियाकै अभिन्न अङ्ग हुनाका साथै राज्यको कर्तव्य भएको उल्लेख गर्दै उक्त समस्या समाधान गर्न सरकार सकारात्मक रहेको बताउनुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

यसअघि अध्यक्ष दाहालले आजै बिहान वीरअस्पतालमा पुगी काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–६ का पूर्वजनमुक्ति सेनाका सेक्सन कमाण्डर भक्त रानालाई भेट गरी उहाँको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको थियो । मकवानपुरको झुरझुरेमा भएको दोहोरो भिडन्तमा उहाँ घाइते हुनुभएको थियो । शान्ति प्रक्रियापछि राना वाइसिएलको जिम्मवारीमा रहनुभएको थियो ।

भीडन्तका क्रममा टाउकामा लागेको चोट बल्झिएपछि उहाँको खुट्टामा इन्फेक्सन देखिएको र त्यसका कारण दुवै खुट्टा शल्यक्रिया गरेर फाल्नुपरेको अस्पतालले जनाएको छ । भेटका क्रममा अध्यक्ष दाहालले आगामी दिनमा पार्टी र सरकारका तर्फबाट उपचारका पहल तथा व्यवस्थामा कुनै कमी हुन नदिने, सात वर्षको बच्चाको पढाइ र पत्नीको रोजगारीका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

उहाँले वीरअस्पतालमा उपचाररत अन्य बिरामीको स्वास्थ्योवस्थाका बारेमा पनि जानकारी लिनुभएको थियो । अस्पतालमा उपचाररत गोरखा फुजेलका तिलराम देवकोटा (शहीद परिवार)लगायत अन्य बिरामीसँग भेट गर्नुभएको थियो ।

बिरामीका आफन्तले अस्पतालमा चिकित्सक ड्युटीमा नरहने, बिरामीलाई प्राइभेट अस्पताल रेफर गर्ने, एमआरआई मेसिन बिग्रेको भनेर निजी प्रयोगशालामा पठाउने, अस्पताल फार्मेसीले उपलब्ध गराउने भनेको निःशुल्क औषधि नपाइने, महँगो औषधि निःशुल्क नभएको, शल्यक्रिया उपकरणमा चर्को दलाली हुने गुनासो गरेका थिए ।

प्रचण्डद्वारा जनयुद्धका घाइतेको स्वास्थ्योपचारको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण