चितामा आधा शरीर जलिसकेको महिलाको शव प्रहरीद्वारा बरामद

Posted on: 11 Jun, 2023

जेठ २८, सर्लाही | सर्लाहीको हरिपुर नगरपालिका –६, लक्ष्मीपुरमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । घरायसी विवादमा श्रीमान राजाराम साहले कुटपिट गर्दा श्रीमती ४५ वर्षकी इन्द्रकलादेवी साहको मृत्यु भएको हो । 

जेठ २२ गते राजारामले कुटपिट गर्दा गम्भीर घाइते भएकी इन्द्रकलाको शनिबार बिहान मृत्यु भएको थियो । इन्द्रकलालाई उपचारका लागि नवलपुरस्थित एक अस्पतालमा लगिएको थियो । नवलपुरमा सामान्य उपचार गरेर वीरगञ्ज लगिएको थियो ।  

वीरगञ्जमा उपचार गरी २३ गते राति घर ल्याइएको गाउँलेको भनाइ छ । घरमा ल्याउनासाथ पुनः स्वास्थ्यमा समस्या देखिएपछि २४ गते उनलाई फेरि उपचारका लागि जनकपुर अस्पताल लगिएको थियो ।  

जनकपुरमा उपचार गरिरहँदा स्वास्थ्य अवस्था जटिल बनेको भन्दै शनिबार बिहान घरतर्फ ल्याउनेक्रममा महिलाको बाटोमा मृत्यु भएको स्थानीयले बताए । मृतकको शव शनिबार मध्यान्ह गाउँमा ल्याएर लखन्देही खोलामा अन्त्येष्टि गरिरहेका बेला प्रहरीले महिलाको शव बरामद गरेको स्थानीयले बताएका छन् ।  

महिलाको शव मृतककी छोरी, ज्वाँइलगायत केही आफन्तले प्रहरीमा उजुरी दिएपछि प्रहरीले शव बरामद गरेको बुझिएको छ । इलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी निरीक्षक विजय कुँवरको नेतृत्वमा खटिएको प्रहरी टोलीले महिलाको शव आज बरामद गरेको हो । बलिराखेको चिताबाट आधा शरीर जलिसकेको अवस्थामा महिलाको शव बरामद भएको प्रहरीले जनाएको छ । कुटपिट घटनामा संलग्न महिलाका श्रीमानसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!