गाडीको ठक्करबाट छठ ब्रतालुको मृत्यु

Posted on: 20 Nov, 2023

मङ्सिर ४, सर्लाही | सर्लाहीको हरिवन नगरपालिका–९ नोचामा साेमबार बिहान गाडीले ठक्कर दिँदा एक छठ ब्रतालु महिलाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरिवनको नोचामा गाडीले ठक्कर दिँदा स्थानीय ५२ वर्षीया लक्ष्मी पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सविण कार्कीले जानकारी दिएका छन् ।

रोचास्थित छठ घाटमा छठ पूजा गरेर घर फर्किँदै गरेकी पोखरेललाई मधेस प्रदेश–०३–००१ ज ०३४२ नम्बरको गाडीले ठक्कर दिएको हो ।

महिलालाई ठक्कर दिई चालक भाग्ने क्रममा सोही गाडीको ठक्करबाट सडक सुरक्षार्थ खटिएका ट्राफिक प्रहरी हवल्दार सुबोधकुमार यादव घाइते भएको प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।

बायाँ खुट्टा भाँचिएका हवल्दार यादवलाई उपचारका लागि लालगढ अस्पताल लगिएको छ । सडक छेउमा रोकिराखेको बागमती प्रदेश–०२–०३८ प ०३११ नम्बरको मोटरसाइकललाई समेत सो ठक्कर दिएर क्षति पुर्‍याएको छ । चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!