सिन्धुलीमा बोलेरो दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ११ घाइते

Posted on: 15 Aug, 2024

साउन ३१, सिन्धुली | सिन्धुलीमा आज बिहान बोलेरो दुर्घटनामा ज्यान गुमाउने २ जनाको पहिचान खुलेको छ। 

दुर्घटनामा सिन्धुलीकै गोलन्जोर गाउँपालिका- ६ निवासी करिब ४० वर्षीय पृथ्वी भुजेल र ४२ वर्षीय उदय मगरकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द काफ्लेले जानकारी दिए। 


सिन्धुलीकै तीनकन्याबाट सदरमुकामतर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको बोलेरो बिहीबार बिहान ९:२० बजे वीपी राजमार्गमा पर्ने कमलामाई नगरपालिका- ४ मा सडकबाट तल खसेर दुर्घटना भएको हो।

‘घाइते ११ जनामध्ये तीन जनाको अवस्था गम्भीर छ,’ एसपी काफ्लेले  भने, ‘गम्भीर अवस्थाका बोलेरो चालक टीकाराम राईलाई थप उपचारको लागि धुलिखेल अस्पताल पठाएका छौँ।’

गम्भीर घाइते हिमाल परियार र पवन मस्रांगीलाई पनि धुलिखेल पठाउने तयारी भइरहेको उनले बताए। बाँकी ९ जना घाइतेको अवस्था भने सामान्य रहेको एसपी काफ्लेले जानकारी दिए। 

घाइतेमध्ये धेरैको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घाइते अधिकांश गाेलन्जाेरकै स्थानीय बासिन्दा हुन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!