चैत २१, कैलाली | कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं ‘ए’ मा ‘स्मार्ट सिटी’अन्तर्गत निर्माण भइरहेको कालोपत्र सडक १५ दिन नपुग्दै भत्किन थालेको छ । पटक–पटक निर्माण अवधि थपेर निर्माण कम्पनी महालक्ष्मी÷एमके जेभीले कालोपत्र गर्न सुरु गरेको उक्त सडकको १५ दिन नपुग्दै कालोपत्र उप्किन थालेकोे स्थानीय नन्दसिंह विकले बताउनुभयो । “कम्पनीले काम सुरु गरेदेखि नै काममा लापरवाही गर्दै आएको थियो । यसको निरन्तरता सडक कालोपत्रमा पनि देखियो”, उहाँ भन्नुहुन्छ, “निर्माण सम्पन्न नहुँदै सडक भत्किन थालेपछि सहजै अनुमान गर्न सकिने स्थिति रह्यो । काम गुणस्तरहीन भएको छ भन्ने ।”

स्थानीय हरि चौधरीका अनुसार यस्तै अवस्थामा सडकको काम भयो भने छ महिनामै कालोपत्र सडक ग्राभेल सडकमा परिणत हुन समय नलाग्ने बताउनुभयो । उहाँले निर्माणकै क्रममा टाला हाल्न थालेको सडक दीर्घकालीन नहुने बताउनुभयो । “अगाडि काम भएर जाने पछाडि त्यहीँ सडक भत्किएको जनाउँदै टाला हाल्दै जाने हो भने सडक गुणस्तरहीन छ भन्ने सामान्य नागरिकले पनि अनुमान गर्न सक्ने स्थिति छ”, उहाँ भन्नुहुन्छ, “सकिन्छ भने सम्बन्धित निकायले समयमै अनुगमन गरी सडक पुनः कालोपत्रका लागि निर्माण कम्पनीलाई निर्देशन दिनुपर्छ ।”

सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालय धनगढीको प्राविधिक टोलीले सडक निर्माणको विरोध भएपछि सडकको अनुगमन गरेको छ । आयोजनाका प्रमुख रमेश सिंहले कालोपत्र सडकमा समस्या आएको खबर प्राप्त भएपछि सडकको अनुगमन गरिएको बताउनुभयो । “चौतर्फी कालोपत्र सडक केही दिनमै भत्कियो भन्ने खबर आएपछि हामी अनुगमनमा आएका हौँ”, उहाँले भन्नुभयो, “केही ठाउँमा समस्या देखिएको रहेछ, त्यसलाई पुनःनिर्माण गर्न लगाउँछौँ ।”

उहाँले सडकमा समस्या देखिएपछि कोहलपुरको ल्याबमा बिटुविनको परीक्षण गर्न पठाएका जनाउँदै आयोजना प्रमुख सिंहले त्यसको प्रतिवेदन आएपछि थाहा हुने बताउनुभयो । टीकापुर नगरपालिकाका प्रमुख रामलाल डंगौरा थारूले बिग्रेको क्षेत्रमा सडक सुरुबाट निर्माण गर्ने वातावरण बनाउन सङ्घीय सहरी विकास आयोजनाका प्रमुखलाई आग्रह गर्नुभयो । उहाँले प्राविधिक समस्याका कारण काममा समस्या देखिएको भए ठीक हुने भए पनि नियतले काममा कसैलाई गलत गर्ने छुट नहुने बताउनुभयो ।

सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालयको करिब रु आठ करोड लागतमा ब्लक ‘ए’को तीन किलोमिटर सडक कालोपत्र र नाली निर्माण भइरहेको छ । ब्लक ‘ए’को तीनतिरको मुख्य सडक र केही भित्री सडकसमेत कालोपत्र भइरहेका छन् । निर्माण कम्पनीका ओभरसियर जयराम थापाले सडक कालोपत्र गर्दा तत्काल ठूला सवारीसाधन चलेकाले सडकका केही भागको कालोपत्र सेट हुन नसकेको दाबी गर्नुभयो । टीकापुरको खड्गचोकबाट टीकापुर अस्पताल, खानेपानी ट्याङ्की, इलाका प्रहरी कार्यालय हुँदै मेनरोड रहेको ब्लक नं ‘ए’का भित्री सडक कालोपत्र भइरहेका छन् ।

April 4, 2023
समाज
पन्ध्र दिनमै भत्कियो कालोपत्र सडक
By साझासवाल
6 मिनेट पढाइ