बैशाख ६, मुग्लिन | चितवनको इच्छाकामना गाउँपालिकाले सिमान्तकृत चेपाङ समुदायको घरमा निःशुल्क नयाँ विद्युत् मिटर जडान गर्न सहयोग गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरे अनुसार सो समुदायको घरमा विद्युत् मिटर जडान गरिदिएको हो ।

गाउँपालिकाले हालसम्म वडा नं ६ को २१ घरमा मिटर जडान गरिदिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषालले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं ७ को २३ र वडा नं ४ का १० घरमा पनि जडान गर्ने अन्तिम तयारी भइरहेको छ । साथै चालु आव सो कार्यक्रमका लागि रु दुई लाख बजेट विनियोजन गरेकोले आवश्यकता अनुसार थप घरमा समेत जडान गरिने उहाँले बताउनुभयो ।

गाउँपालिकाले– ४ र ६ मा इच्छाकामनामा ग्रामीण विद्युतीकरण कार्यक्रम सञ्चालन गरिरहेको मुग्लिनस्थित मस्र्याङ्दी बहुउद्देश्यीय सहकारी संस्थामार्फत निःशुल्क मिटर जडान गरिरहेको छ, भने वडा नं ७ मा नेपाल विद्युत् प्राधिकरणमार्फत मिटर जडान गरिरहेको छ । गाउँपालिकाले सिमान्तकृत चेपाङ समुदायलाई लक्षित गरी यो कार्यक्रम ल्याइए पनि विपन्न वर्गका अन्य समुदायको घरपरिवारमा समेत निःशुल्क विद्युत् मिटर जडान गरिने गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो ।

साथै आगामी वर्षमा पनि कार्यक्रमलाई निरन्तरता दिँदै उनीहरुको न्यूनतम विद्युत् महसुलसमेत गाउँपालिकाले तिर्ने योजना ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

April 19, 2023
समाज
चेपाङ समुदायमा निःशुल्क विद्युत् मिटर जडान
By साझासवाल
3 मिनेट पढाइ