कात्तिक १३, बारा | बाराको कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ। प्रधानाध्यापक रुपेश स्वर्णकारमाथि अज्ञात समूहले टाउको र छातीमा गोली हानेको प्रहरीले जनाएको छ।

बाल एकता बोर्डिङ स्कुलनजिकै मदर्सा टोलमा स्वर्णकारमाथि गोली प्रहार भएको स्रोतको भनाइ छ।

बारा प्रहरीका अनुसार स्वर्णकारको टाउको र छातीमा गोली प्रहार गरिएको छ। गोली लागेका उनलाई उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । अस्पताल स्रोतका अनुसार स्वर्णकारको अवस्था चिन्ताजनक छ ।

अन्दाजी ३५ वर्षीय स्वर्णकार कलैया ६ का बासिन्दा हुन् । स्वर्णकारले कलैयामा बाल एकता बोर्डिङ सञ्चालन गरेका छन् ।

घटनास्थलमा प्रहरी पुगेको र गोली प्रहार गर्ने अज्ञात समूहको खोजी भइरहेको बारा प्रहरी प्रमुख सुरेश काफ्लेले जनाए।

October 30, 2023
समाज
बाराको कलैयामा प्रधानाध्यापकमाथि गोली प्रहार
By साझासवाल
2 मिनेट पढाइ