मङ्सिर ४, अहमदाबाद | आइतबार भएको विश्वकप २०२३ को फाइनल खेलमा अस्ट्रेलियासँग पराजित भएपछि भारतीय कप्तान रोहित शर्माले यस खेलमा भारतीय टोलीको प्रदर्शन राम्रो नभएको र विशेष गरी ब्याटिङमा टोलीको प्रदर्शन खराब रहेको बताएका छन् ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा अस्ट्रेलियाले भारतलाई २४० रनमा अलआउट गर्यो र त्यसपछि चार विकेट गुमाएर उक्त लक्ष्य पछ्याउँदै विश्व च्याम्पियन बनेको थियो।

खेलपछि रोहित शर्माले भने, ‘खेलको नतिजा हाम्रो पक्षमा थिएन र हामीलाई थाहा छ आज हामी राम्रो थिएनौँ । तर मलाई टोलीमा गर्व छ। हामीले आफ्नो तर्फबाट सक्दो प्रयास गरे तर जे भयो त्यो त्यहाँ हुनुहुँदैन थियो ।’

‘इमानदारीपूर्वक भन्नुपर्दा २०–३० रन थप लिएको भए राम्रो हुन्थ्यो । करिब २५-३० ओभरसम्म, जब केएल राहुल र विराटले ब्याटिङ गरिरहेका थिए, हामीले राम्रो साझेदारी गर्ने र सम्भव भएसम्म पिचमा रहनुपर्छ भन्ने कुरा गरिरहेका थियौँ, तर त्यसपछि हामीले लगातार विकेट गुमाइरह्यौँ। त्यतिन्जेल हामीले २७०–२८० रन बनाउँछौँ भन्ने लागेको थियो । हामीले राम्रो साझेदारी गर्न सकेनौँ । अस्ट्रेलियाले तीन विकेट गुमाएपछि राम्रो साझेदारी गरेको थियो,’ उनले भने ।

खेलमा अस्ट्रेलियाको सुरुवात पनि खराब रह्यो र पहिलो सात ओभरमा ४७ रनमा डेभिड वार्नर, मिचेल मार्स र स्टिभन स्मिथको विकेट खसेको थियो । तर यसपछि ट्राभिस हेड र मार्नस लाबुस्चेनबिचको उत्कृष्ट साझेदारीले भारतको खेल नै बदलिदियो ।

रोहित शर्माले भने- ‘जब तपाईंको बोर्डमा २४० रन हुन्छ, तपाईं जतिसक्दो चाँडो विकेट लिन चाहनुहुन्छ र हामीले त्यो गर्यौँ । तर त्यसपछि हेड र मार्नसलाई श्रेय दिनुपर्छ । उनीहरूले ठुलो साझेदारी गरे र हामीलाई खेलबाट पूर्ण रूपमा बाहिर पारिदिए । तैपनि हामीले सक्दो गर्ने प्रयास गरेका थियौँ ।’

November 20, 2023
समाज
अस्ट्रेलियासँग पराजित भएपछि रोहित शर्माले के भने ?
By साझासवाल
4 मिनेट पढाइ