मङ्सिर १८, काठमाडौँ |  श्रीमान् र परिवारबाट घरेलु हिंसामा परेकी महोत्तरीकी नेहा चौधरी रुँदै दुर्गा प्रसाईंसँग गुहार माग्न पुगेकी छन् । उनी हिजो प्रसाईंको भक्तपुरस्थित घरमै पुगेर बिलौना गरिन् ।

प्रसाईंलाई भेटेर नेहाले श्रीमान्का परिवारबाट अझैसम्म पनि धाकधम्की सहनुपरेको गुनासो गरेकी थिइन् । प्रसाईंले उनलाई ढाडस दिँदै न्याय दिलाउने प्रतिवद्धता जनाए ।

‘तिमी आएर यहाँ यसरी रुँदा मेरो छोरी रोएजस्तो भएको छ, के हो तिम्रो समस्या भन त छोरी ?’ प्रसाईंले भनेका थिए ।

नेहाले त्यसपछि सबै बेलिबिस्तार लगाइन् । श्रीमान् र परिवारले यातना दिएर घरबाट निकालेको, सम्वन्ध विच्छेदको मुद्दा दायर गरेको, आफूले दाइजोको मुद्दा दिएपछि श्रीमान् पक्राउ परेको तर, केही महिनामा छुटेको उनले सुनाइन् । नेहाका अनुसार उनका श्रीमान् अहिले भारत, सितामढीको अस्पतालमा कार्यरत छन् । अदालतमा मुद्दा टुंगिएको छैन ।

अहिले पनि श्रीमान्का परिवार र नातेदारहरूले आफूलाई माइतीघरमै आएर मुद्दा फिर्ता लिन धाकधम्की दिने गरेको नेहाको भनाइ छ ।

‘उहाँको भिनाजु हिजो पनि मान्छेहरु लिएर मेरो घरमै आउनुभएको थियो । मुद्दा फिर्ता नलिएर राम्रो हुँदैन भनेर धम्क्याउनु भयो । त्यसपछि म भागेर काठमाडौं आएको हो,’ उनले भनिन् ।

नेहाको कुरा सुनेपछि प्रसाईंले थप्थपाउँदै भने, ‘छोरी, तिमी अब चिन्ता नलेउ, तिमीलाई न्याय दिने काम हामी गर्छौं ।’

त्यसपछि उनले आफ्नो संगठनकी महिला नेतृलाई उनको जिम्मेवारी लिन आग्रह गरे ।

ती नेतृले नेहालाई ‘तपाईं एकदम सही ठाउँमा आउनुभएको छ । अब तपाईंको मुद्दाबाटै हाम्रो नागरिक बचाउने अभियान सुरु हुन्छ । यस्ता भुस्याहालाई म त्यत्तिकै छोड्नेवाला छैन । बरु मर्न तयार हुन्छु, तर पछि हट्दिन ।’

महोत्तरीकी नेहा काठमाडौंमा बसेर प्लस टु पढ्दै गर्दा सोही जिल्लाका पंकज चौधरीसँग प्रेम भएको थियो । पंकज एमबीबीएस डाक्टर हुन् ।

नेहाका अनुसार उनीहरुको विवाहमा बुवाले पंकजलाई ५१ लाख रुपैयाँ नगद र २० तोला सूनसहित प्रशस्तै दाइजो दिएका थिए । विवाहमा परिवारले सम्पत्ति बेचबिखन गरेर १ करोड २५ लाख रुपैयाँ खर्च गरेको उनको भनाइ छ । तर, विवाहपछि काठमाडौंमा घर दिनुपर्ने माग गरेको र त्यही निहुँमा यातना दिन थालेको नेहाले बताएकी छन् ।

नेहा र पंकजबीच २५ फागुन २०७८ मा जनकपुरको राजदरबार होटलमा विवाह भएको थियो । विवाहको चार महिनापछि नै कलह सुरु भएको हो । नेहाले श्रीमान र परिवारका सदस्यविरद्ध बकसपत्र बदर, जालसाजी, घरेलु हिंसा, मानचामल र अंश मुद्दा दायर गरेकी छन् । पंकजले भने सम्वन्धविच्छेको मुद्दा हालेका छन् ।

December 4, 2023
समाज
दाइजोपीडित नेहा चौधरी रुँदै पुगिन् दुर्गा प्रसाईंको दैलोमा
By साझासवाल
5 मिनेट पढाइ