मङ्सिर २१, काठमाडौँ | दूरसञ्चार सेवाप्रदायक एनसेलले आफ्नो माउ कम्पनीको स्वामित्व परिवर्तन गर्दा कर तिर्नुपर्ने भएमा कम्पनी तिर्न तयार रहेको बताएको छ।

एनसेलले विज्ञप्ति जारी गरेर कारोबारलाई लिएर कर तिर्नुपर्ने भएमा नेपालको कानून पालना गर्ने प्रतिबद्धता जनाएको छ। मलेशियन कम्पनी आजियटाले गत साता एनसेलको ८० प्रतिशत शेयर स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गरेको जनाएको थियो। यो किनबेच प्रतिस्पर्धाबाट गरिएको एनसेलले जनाएको छ।

संसद्को सार्वजनिक लेखा समितिले बुधबार यस्तो कारोबार अपारदर्शी, शंकास्पद र अवास्तविक भएको भन्दै अनुसन्धान नटुंगिउन्जेल कारोबार रोक्न नेपाल सरकारलाई निर्देशन दिएको थियो। एनसेलले बिहीबार राष्ट्रिय दैनिक पत्रिकाहरूमा विज्ञप्ति निकालेर पारदर्शी प्रक्रियाबाट किनबेच गरिएको र शेयर कारोबारको मूल्य र संरचना क्रेता र बिक्रेता मार्फत निर्धारण गरिएको जनाएको छ।

विज्ञप्तिमा उल्लेख छ, ‘आजियाटाले रेनोल्ड होल्डिङ्स (सेन्ट किट्समा रहेको कम्पनी) मा रहेको आफ्नो शेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो र स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पर्धीहरूमध्येबाट पहिलो भई छानिएको हो।’

एनसेलको ८० प्रतिशत स्वामित्व किनेको स्पेक्ट्रलाइट यूकेका शेयरधनी सतिशलाल आचार्यका अनुसार सहमति भएको सम्झौता ढाँचा अनुसार आजियाटाले बेस पेमेन्ट बाहेक पाँच वर्ष अर्थात् सन् २०२९ सम्म थप लाभहरू नाफा बाँडफाँटको रूपमा प्राप्त गर्ने छ। जस अनुसार यस शेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको भन्दै उनले त्यो कम्पनीको कार्यसम्पादनको आधारमा बिक्रेता कम्पनीले निश्चित समयावधिभित्र प्राप्त गर्ने बताएका छन्।

कम्पनीको किनबेचमा बेस प्राइस (आधारभूत मूल्य) का रूपमा रु. पाँच करोड अमेरिकी डलर तय गरिएको विवरण यसअघि सार्वजनिक भएको थियो। भविष्यमा प्राप्त गर्ने लाभांश समेत जोड्दा यो रकम ४० करोड डलर (करीब रु. ५३ अर्ब ) पुग्ने अनुमान एनसेलको स्वामित्व किनेको स्पेक्ट्रलाइट यूकेका सतिशलाल आचार्यले गरेका छन्।

स्पेक्ट्रलाइट युके नेपाली मूलका सतिशलाल आचार्यको कम्पनी हो। विज्ञप्ति मार्फत उनले स्वामित्व खरीदको परिवर्तनकारी सम्झौताले एनसेललाई नेपलाी मूलको बृहत्तर स्वामित्व सहित कम्पनी र व्यवस्थापनतर्फ एनसेलको विकासलाई डोर्याउने दाबी गरेका छन्।

एनसेलले स्वामित्व परिवर्तनबाट कम्पनीको सेवा र ग्राहकहरूलाई प्रदान गरिने सेवाको गुणस्तरमा कुनै बाधा अवरोध नहुने पनि दाबी गरेको छ।

December 7, 2023
समाज
एनसेल किन्ने सतिशलाल आचार्य भन्छन्, “शेयर किनबेचको मूल्य ५३ अर्ब रुपैयाँ”
By साझासवाल
5 मिनेट पढाइ