फागुन १६, काठमाडौं | झट्ट सुन्दा फिल्मको कहानी जस्तै लाग्ने घटना हालै काठमाडौंमा भएको छ। एक युवतीले प्रेम प्रस्ताव राखेको ठिक एक वर्ष पूरा भएकै दिन प्रेमीलाई भेटेर आत्महत्या गरेकी छिन्।

१९ वर्षीया सरिता पाण्डे माघ १६ गते काममा गएर घर फर्किएकी थिइनन्। साँझबाट मोबाइलसमेत अफ भएको थियो। भोलीपल्ट अपराह्न उनी चन्द्रागिरि नगरपालिका(४ थानकोट त्रिभुवन पार्कस्थित भिरालो पाखामा रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

प्रहरीले युवतीले बोक्ने मोबाइल उनका प्रेमी २२ वर्षीय आयुष श्रेष्ठको साथबाट बरामद गरेको थियो। आयुषले माघ १७ गते बिहान सरिताकी आमालाई फोन गरेका थिए। सरिता कहाँ छिन् भन्दै पटक पटक फोन गरेर उनले सोधेका थिए। मृतक युवतीका परिवारको जाहेरीपछि प्रहरीले आयुषलाई पक्राउ गरेको थियो। उनीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दायर भएको छ। आयुष र सरिता प्लस टु एउटै कलेजमा पढ्थे। सरिता एक ब्याज सिनियर थिइन्।

के भन्छन् आयुष ?

आयुषका अनुसार सरितासँग उनको औपचारिक प्रेम सम्बन्ध २०७९ माघ १६ गतेबाट सुरु भएको थियो। त्यस दिन दुवै जनाले एक अर्कालाई प्रेम प्रस्ताव राखेका थिए।

उनीहरू त्यसयता अन्तरंग सम्बन्धमा थिए। तर केही महिनायता सरिताले आफूलाई झुटो कुरा गरेर झुक्क्याउने र साथीहरूसँग मिलेर प्रान्क गर्ने गरेको आयुषले बताएका छन्।

सोही कारण उनले सरिताको फोन उठाउन छाडेका थिए। यसरी सम्बन्ध अगाडि नबढ्ने भन्दै आफू सम्बन्धबाट छुटिन चाहेको उनले सरितालाई बताइसकेका थिए। प्रहरीसँग आयुषले दिएको बयानका अनुसार सरिता र उनीबीच घटना हुनुभन्दा १०/१२ दिनदेखि बोलचाल थिएन। तर माघ १६ गते साँझ साढे ५ बजे सरिताले आयुषलाई उनको डेरा कोठा नजिकै आएर फोन गर्दै अन्तिम पटक भेट्न भनेर बोलाएकी थिइन्।

‘आज हामीहरूको प्रेम सम्बन्ध सुरु भएको दिन पनि हो। आज जसरी भए पनि मलाई अन्तिम पटक भेट्न आउनु त्यसपछि तिमी आफ्नो बाटो लाग्नु म आफ्नो बाटो लाग्छु भनेर बोलाएपछि मैले उनलाई भेटेको हुँ’, आयुषले भनेका छन्। त्यसपछि उनीहरू भेटेर त्रिभुवन पार्क नजिकै डाँडा पुगेका थिए। विगतमा पनि उनीहरू त्यहीँ डेट गर्ने गरेका थिए।

त्यहाँ १० मिनेट जति भेटेपछि अब प्रेम सम्बन्धमा नबस्ने र आ(आफ्नो बाटो लाग्ने कुरा भएर छुट्टिएको उनको भनाई छ। डेरा कोठा फर्किएर पछि उनी घर गइन् की गइनन् भनेर हेर्न पुन छुट्टिएको ठाउँमा हेर्न पुगेको उनले बयान दिएका छन्। कोठामा आइपुगेको केही समयमा घरबेटीले आफूलाई यो मोबाइल तिम्रो हो भन्दै देखाएको र हेर्नेवित्तिकै सरिताको भएको चाल पाएको उनले अनुसन्धानका क्रममा बताएका छन्।

‘सरिताले आफ्नो मोबाइल मेरो डेरा कोठा नजिकै फ्यालिछन् भन्ने लाग्यो’, त्यति बेलाको अवस्थाबारे आयुषले भनेका छन्। मोबाइल फ्लाइट मोडमा रहेको र त्यस दिन आफैसँग राखेर भोलिपल्ट सरिताको भाइलाई कलेजमा दिन खोज्दा उनी त्यहाँ नआएकाले त्यसपछि आमालाई फोन गरेको बयान दिएका छन्।

‘म्यासेज’हरूमाथि अनुसन्धान

प्रहरीले दुई जनाबीच पछिल्लो समय सम्बन्ध राम्रो नरहेको र सरिताले माघ १६ गते मर्छु भनेर पठाएका म्यासेजहरू फेला पारेको छ। ‘फस्ट लभ एनिभर्सरी एकदम राम्रोसँग मनाउँछु सोचेको थिएँ तर पुरा हुन दिएनौँ’, सरिताले आयुषलाई म्यासेज गरेको पाइएको छ।

उनले आयुषकै पूर्व प्रेमिकाको नाम लिएर आफूलाई पनि त्यस्तै बनाउन खोजेको तर आफू त्यस्तो हुन नसक्ने आशय पनि उल्लेख गरेकी थिइन्। ती युवतीलाई पनि माया गरेर धोका दिएको र आफूलाई पनि त्यस्तै बनाउन खोजेको ब्यहोरा म्यासेजको छ। ‘प्रान्कले लाइफ चल्दैन थाहा छ तर प्रान्कले गर्दा तिमीले छोडेको होइनौँ यति चाहिँ थाहा छ’, सरिताको पठाएको म्यासेजमा देखिन्छ।

आयुषले सरिताले हरेक कुरामा प्रान्क गर्ने गरेकाले उनको प्रेममा विश्वास लाग्न छाडेको दाबी गरेका छन्। ‘तिमी १४ दिन कुर्न सक्दैनौँ भने म भोली मरिदिन्छु तर १६ गते मेरो फेबरेट दिन हो त्यो दिन सबै लाइफबाट जान्‘’, सरिताले माघ २ गते आयुषलाई म्यासेज पठाएकी थिइन्। सरिताको कुनै पनि कुरामा विश्वास नलाग्ने भएकाले वास्ता नगरेको आयुषको भनाई छ।

‘जुन ठाउँमा तिमीले फस्ट हग गरेऊ त्यही ठाउँ मेरो अन्तिम चोटी फेस देख्ने छौ मरेको भए पनि। त्यही दीन तिमीले प्रपोज गरेऊ‘त्यही दिन म बिदा हुने छु अनि सधैँ खुसी हौ ल मेरो गिफ्ट राख्न सकेनौँ १६ गते पशुपतिमा आएर जलाई दिनु ’, सरिताले म्यासेज लेखेकी थिइन्। उनले एक म्यासेजमा माघ १६ गते साँझ ७ बजेपछि आफूलाई हेर्न आउनु भनेर आयुषलाई म्यासेज पठाएको देखिन्छ।

लगातार पठाएका अन्य म्यासेजमा सरिताले शारीरिक सम्पर्कका विषयहरू अरूलाई थाहा भएको र त्यो आयुषले नै भनेको हुन सक्ने आशंका व्यक्त गरेकी छिन्। ‘ म मर्छु अब कति जनाको मुखबाट आयुषले शारीरिक सम्पर्क गरेर छोडेको भनेर सुन्नु। म मरेपछि सँगै जलाइदेऊ, प्लिज यस्तो गर्छस् भनेर मैले सोचेको थिएन यार’, सरिताले आयुषलाई भनेकी थिइन्।

आयुषविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ।

February 28, 2024
समाज
‘प्रेम’को एनिभर्सरीमा प्रेमीलाई भेटेर आत्महत्या
By साझासवाल
10 मिनेट पढाइ